धनुषामा विद्युतको पोलमा चढेर मिटरको तार जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिरेश्वरनाथ नगरपालिका–९, औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक केशव गौतमले मिटरको तार जोड्नका लागि विद्युत पोलमा चढेका साहको करेन्ट लागेर मृत्यु भएको पुष्टि गरेका थिए ।
उनका अनुसार करेन्ट लागेपछि साहको शव पोलमै अड्किएको अवस्थामा फेला परेको थियो । पोलमा अड्किएको साहको शव जेसीभी मेसिनको सहयोगबाट झारिएको गौत्तमले बताए ।
घटनास्थलको मुचुल्का गरी मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।