सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकको गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले ११ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेपछि मधेश प्रदेशमा ठूलो परिमाणमा भइरहेको गाँजा ओसारपसार फेरि चर्चामा आएको छ।
सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा राति करिब साढे १२ बजे बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकललाई पछ्याइएको थियो। सुरक्षाकर्मीको गाडी देखेपछि चालक तथा अन्य व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएका थिए।
त्यसपछि प्रहरीले २६ वटा बोरामा राखिएको ११ क्विन्टल २ किलो ६ सय ५५ ग्राम अर्थात् १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद गरेको हो।
दुई वर्षमा २० टनभन्दा बढी गाँजा बरामद
मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशका आठ जिल्लाबाट ८ हजार ५४० किलो ९५० ग्राम गाँजा बरामद भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा बरामद परिमाण बढेर १२ हजार ३९१ किलो ६०६ ग्राम पुगेको थियो।
दुई आर्थिक वर्षको तथ्यांक जोड्दा मधेश प्रदेशबाट २० हजार ९३२ किलो ५५६ ग्राम अर्थात् करिब २०।९३ टन गाँजा बरामद भएको देखिन्छ।
लागूऔषधसम्बन्धी घटनामा आर्थिक वर्ष २०८०/८१ मा १ हजार १०४ जना पक्राउ परेका थिए भने ७९७ वटा मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०८१/८२ मा ८३६ जना पक्राउ परेका र ५८५ वटा मुद्दा दर्ता भएको प्रहरी विवरण छ।
सप्तरीमा ठूलो परिमाणमा बरामद
मधेशमा ठूलो परिमाणमा गाँजा बरामद हुने जिल्लामध्ये सप्तरी अगाडि देखिएको छ। सार्वजनिक प्रहरी विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा सप्तरीबाट करिब ६ हजार १० किलो गाँजा बरामद भएको थियो।
साउनदेखि चैतसम्मको अवधिमा मात्रै सप्तरीबाट ६ हजार २४८ किलो गाँजा बरामद भएको र ३२ जना पक्राउ परेको विवरण सार्वजनिक भएको थियो।
त्यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट तीनवटा सवारीसाधनमा लुकाएर राखिएको ३ हजार ३३२ किलो ४६० ग्राम गाँजा बरामद भएको थियो। उक्त घटनामा सवारीसाधनका चालकहरू फरार भएका थिए। यसअघि सप्तरीकै राजगढ क्षेत्रमा करिब १७ क्विन्टल गाँजा बरामद भएको थियो।
प्रहरीका अनुसार पहाडी क्षेत्रबाट ल्याइएको गाँजा सप्तरीमा भण्डारण गरी सीमावर्ती बाटो हुँदै भारततर्फ लैजाने प्रयास हुने गरेको पाइएको छ।
सर्लाहीदेखि सिरहासम्म भण्डारण र ओसारपसार
सर्लाहीको लालबन्दी नगरपालिका–१४ मिलनचोकमा २०८१ जेठमा प्रहरीले दुईवटा घरमा खानतलासी गर्दा १ हजार ६१२ किलो ८५० ग्राम गाँजा बरामद गरेको थियो। घरका विभिन्न कोठामा ड्रम तथा बोरामा लुकाएर राखिएको गाँजासँगै च्याप्ने मेसिनसमेत बरामद भएको प्रहरीले जनाएको थियो।
यस घटनाले गाँजा सीमाबाट तत्काल पार गराउने मात्र नभई मधेशका विभिन्न स्थानमा भण्डारण गरेर राख्ने गरेको अवस्थासमेत देखाउँछ।
सिरहाको लहान, गोलबजार, मिर्चैया र सुखीपुर क्षेत्रमा पनि गाँजा ओसारपसारका घटना पटक–पटक सार्वजनिक हुँदै आएका छन्। लहान नगरपालिका–३ बाट पिकअपमा फलफूलका क्रेटभित्र लुकाइएको ६५२ किलो गाँजा बरामद गरी तीन जना पक्राउ गरिएको थियो। पछिल्लो सुखीपुर घटनामा भने एक टनभन्दा बढी गाँजा बरामद भएको छ।
मुख्य सञ्जालसम्म पुग्न चुनौती
ठूलो परिमाणका घटनामा चालक तथा सहयोगीहरूले सवारीसाधन छाडेर फरार हुने प्रवृत्तिले गाँजा कारोबारको मुख्य सञ्जालसम्म पुग्नु सुरक्षा निकायका लागि चुनौती बनेको छ।
प्रहरीका अनुसार मकवानपुर, सिन्धुलीलगायत पहाडी क्षेत्रबाट गाँजा ल्याएर मधेशका सीमावर्ती जिल्लामार्फत भारतीय बजारतर्फ लैजाने प्रयास हुने गरेको छ। पक्राउ परेकाहरूको बयानका आधारमा भारतीय सीमावर्ती बजार गाँजाको प्रमुख गन्तव्य हुने गरेको प्रहरीको भनाइ छ।
खुला नेपाल–भारत सीमा, ग्रामीण तथा वैकल्पिक सडकको प्रयोग र सीमावर्ती क्षेत्रमा हुने आवतजावतका कारण गाँजा नियन्त्रण थप चुनौतीपूर्ण बनेको देखिन्छ। दुई वर्षमा २०.९३ टनभन्दा बढी गाँजा बरामद भएको तथ्यांकले मधेशमा यसको ओसारपसारको व्यापकता देखाएको छ।