मधेस प्रदेशका बालबालिकाका समस्या, आवश्यकता र सुझाव समेटिएको ‘बालबालिकाको चिठ्ठी’ प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई हस्तान्तरण गरिएको छ ।
बालबालिकाका सवाललाई नीतिगत तहसम्म पुर्याउने उद्देश्यले युथ फर चेन्जका युवा प्रतिनिधिले मुख्यमन्त्री यादवलाई चिठ्ठी हस्तान्तरण गरेका हुन्। चिठ्ठीमा बालबालिकाले भोगिरहेका समस्या तथा प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने विभिन्न विषय समेटिएका छन् ।
सेभ द चिल्ड्रेनको साझेदारीमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालद्वारा सञ्चालित ‘समुन्नति’ कार्यक्रमअन्तर्गत बालविवाह अन्त्य तथा बालअधिकार प्रवर्द्धनका लागि बालबालिका र युवाहरूले पैरवी गर्दै आएका छन् ।
महोत्तरीका एक सयभन्दा बढी बालबालिकाले तयार पारेको चिठ्ठीमा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, विद्यालयमा बालमैत्री शौचालय निर्माण, समयमै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था र खेलकुद सामग्रीमा बालबालिकाको पहुँच बढाउनुपर्ने विषय पनि समेटिएको छ ।
चिठ्ठीमा सडक तथा ढल व्यवस्थापन सुधार गर्नुपर्ने, विद्यालय र समुदायमा बालमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका मागसमेत राखिएको छ ।
बालबालिकाका समस्या र आवश्यकतालाई स्थानीय तह हुँदै प्रदेशको नीतिगत तहसम्म पुर्याउने तथा बालअधिकारका विषयमा सरकारी निकायको ध्यानाकर्षण गराउने उद्देश्यले चिठ्ठी हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।