कर सेवा केन्द्र गौर खारेज गरी करसम्बन्धी सेवा कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सञ्चालन गर्न थालेपछि रौतहटका व्यापारी तथा उद्योगीले सेवा लिन सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
कर चुक्ता प्रमाणपत्रलगायत करसम्बन्धी कामका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयमा जिम्मेवारी तोकिएका सूचना अधिकारी धर्मेन्द्रकुमार यादवबाट सेवा लिन लामो समय कुर्नुपर्ने सेवाग्राहीको गुनासो छ । केही सेवाग्राहीले चिनजान तथा पहुँच भएका व्यक्तिको काम छिटो हुने गरेको आरोपसमेत लगाएका छन् ।
सामान्य सेवाग्राहीले कर चुक्ता प्रमाणपत्रलगायत कामका लागि दिनभर कार्यालय धाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । यसबाट व्यवसायीको समय र खर्च दुवै बढेको उनीहरूले बताएका छन् ।
तर जिम्मेवारी पाएका यादवले भने आफूले सकेसम्म सेवाग्राहीको काम तत्काल गरिदिने गरेको दाबी गरे । कर चुक्ता प्रमाणपत्र जारी गर्न राजस्व कार्यालय सिमराबाट भेरिफिकेशन आवश्यक पर्ने भएकाले केही समय लाग्ने उनले बताए । आफूले आवश्यक प्रक्रिया पूरा गरे पनि सिमराबाट प्रमाणीकरण नभएसम्म प्रमाणपत्र जारी गर्न नसकिने उनको भनाइ छ ।
राजस्व कार्यालय सिमराका सूचना अधिकारी रवि श्रेष्ठले रौतहटबाट आउने कामलाई प्राथमिकताका आधारमा प्रक्रिया अघि बढाउने गरिएको बताए । सिमराको नियमित कामसँगै रौतहटको जिम्मेवारीसमेत हेर्नुपर्ने भएकाले कामको चाप अनुसार समय लाग्ने उनले स्पष्ट पारे ।
उद्योग वाणिज्य सङ्घ रौतहटका पदाधिकारी सन्तोष केशरीले कर सेवा केन्द्र गौर खारेज भएपछि व्यापारी तथा उद्योगीलाई समस्या भएको बताए । केन्द्र खारेज भएपछि आफूहरूले आन्दोलनसमेत गरेको स्मरण गर्दै उनले समस्या समाधानका लागि पटक–पटक पहल गर्दा आश्वासन मात्र पाएको तर व्यवहारमा समस्या यथावत् रहेको बताए ।
कर सेवा केन्द्र सञ्चालनमा हुँदा कर चुक्ता प्रमाणपत्रलगायत सेवा सहज र छिटो उपलब्ध हुने गरेको व्यवसायीको भनाइ छ । पहिले कर चुक्ता प्रमाणपत्र लिन करीब १० मिनेटमैं काम हुने गरेकोमा अहिले प्रक्रिया पूरा गर्दा समेत दिनभर कार्यालयमा बस्नुपर्ने अवस्था आएको उनीहरूले बताएका छन् । व्यापारी तथा उद्योगीले करसम्बन्धी सेवा स्थानीयस्तरमैं सहज, छिटो र प्रभावकारीरूपमा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।