करिब एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगंजको पहलमा परिवारसँग पुनर्मिलन भएको छ ।
बाराको इलाका प्रहरी कार्यालय प्रसौनीले उद्धार गरेर बुधबार राति करिब १० बजे ती महिलालाई मानवसेवा आश्रम वीरगन्जमा ल्याएको थियो । आश्रममा ल्याइएपछि उनको परिचय र परिवारको खोजी सुरु गरिएको थियो ।
आश्रमका अनुसार महिला भारतको मोतिहारी जिल्लास्थित राजेपुर थाना क्षेत्रको मोहम्मदपुर सागर गाउँकी हुन् । उनी लामो समयदेखि परिवारबाट सम्पर्कविहीन अवस्थामा रहेकी थिइन् ।
महिलाको परिवार पहिचान गर्न आश्रमले विभिन्न माध्यमबाट खोजी तथा समन्वय अघि बढाएको थियो । निरन्तरको प्रयासपछि बिहीबार उनका परिवारसँग सम्पर्क स्थापित भएको आश्रमले जनाएको छ ।
परिवार पहिचान भएपछि महिलालाई उनका भाइ सोहन रायको जिम्मा लगाइएको हो । भाइ रायले आश्रममै पुगेर उनलाई जिम्मा लिएका थिए ।
मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार परिवारसँग सम्पर्क स्थापित भएपछि आवश्यक प्रक्रिया पूरा गरी महिलालाई आफन्तको जिम्मा लगाइएको हो ।
मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिको उद्धार गरी संरक्षण र उपचार गर्ने तथा पहिचान खुलेपछि परिवारको खोजी गरेर पुनर्मिलन गराउँदै आएको जनाएको छ ।