सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुधार तथा कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय राजनीतिक दल र सरोकारवालाको सहमतिमा समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको ‘कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति’ले अस्पतालमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको व्यवस्थापन, कार्यसम्पादन मूल्यांकन र करार अवधि थपसम्बन्धी विषयमा काम गर्नेछ ।
समितिको सदस्य सचिवमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टलाई राखिएको छ । सदस्यहरूमा राजविराज नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, टोल विकास संस्था तथा नागरिक समाज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि रहेका छन् ।
त्यस्तै, नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलका प्रतिनिधिलाई समितिमा आमन्त्रित सदस्यका रूपमा राखिएको जनाइएको छ ।
स्थानीय तहमा गठन गरिएको समितिलाई औपचारिक रूपमा अनुमोदन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको अस्पतालका निमित्त मेसु डा. रञ्जित झाले जानकारी दिए ।
अस्पतालमा विगतमा नियुक्त भएका तथा हाल कार्यरत करार र ज्यालादारी कर्मचारीको नियुक्ति प्रक्रियाको समीक्षा, कार्यदक्षता मूल्यांकन तथा निर्धारित मापदण्डका आधारमा करार अवधि थपका लागि सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।
त्यसैगरी, आगामी दिनमा कर्मचारी भर्ना तथा व्यवस्थापन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने तथा अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिने कामसमेत समितिले गर्ने जनाइएको छ ।
अस्पतालमा कर्मचारी व्यवस्थापनसँग सम्बन्धित निर्णयलाई निश्चित मापदण्ड र प्रक्रियामा आधारित बनाउन समिति गठन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।