बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–८, इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम गाँजासहित एक जना कार चालक पक्राउ परेका छन् ।
शुक्रबार बिहान करिब ९ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले मनहरीबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो ।
कारलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा रातो प्लास्टिकले बेरेर लुकाइछिपाई राखिएको अवस्थामा १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ निवासी २८ वर्षीय अम्बिर डिम्डुङ पक्राउ परेका छन् ।
पक्राउ परेका डिम्डुङसहित कार र बरामद गाँजा इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।