जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ ।
फाइनलमा पाकिस्तानलाई १९ रनले पराजित गर्दै भारतले स्वर्ण पदक जितेको हो । जापानको निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका हसन नवाजले सर्वाधिक ९६ रन बनाए। भारतका अक्षर पटेल, वासिङ्टन सुन्दर र शिवम दुबेले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो। भारतका अभिषेक शर्माले ६१ र तिलक वर्माले ५१ रनको योगदान दिए। पाकिस्तानका अहमद दानियाल र अराफत मिन्हासले समान २–२ विकेट लिए।
यस जितसँगै भारतले एसियाली खेलकुदको पुरुष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको छ। फाइनलमा पराजित पाकिस्तानले रजत पदक प्राप्त गरेको छ । यस्तै, आज बिहान भएको कांस्य पदकको प्रतिस्पर्धामा श्रीलङ्काले बङ्गलादेशलाई ६३ रनले पराजित गर्दै कांस्य पदक जितेको छ।
एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल पनि क्वाटरफाइनलमा पुगेको थियो। तर, श्रीलङ्कासँगको खेल वर्षाका कारण हुन नसकेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
भिडियाे रिपाेर्ट