जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी भएको छ । सिमरा रंगशालामा शनिबार राती सम्पन्न खेलमा आयोजकले स्टार स्पोर्ट्स युवा क्लब माडी चितवनलाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेलमा आयोजक टोलीका लागि कल्पना जिम्बाले दुई गोल गरिन् भने रिया श्रेष्ठले एक गोल थपिन् । पराजित टोली स्टार स्पोर्ट्सका लागि निशा मगरले एक गोल फर्काएकी थिइन् ।
यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र फेयर फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ ।
भारतका दुईसहित आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख ११ हजार रुपैयाँ र उपविजेताले दुई लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।