मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । साउन र भदौमा भएका ती घटनामा परी ९२ जनाले ज्यान गुमाएका छन् भने ५१० परिवार प्रभावित भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार विपद्का घटनामा मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २६ बालबालिका रहेका छन्। आगलागी, करेन्ट, पानीमा डुब्ने, बाढी, चट्याङ, डुबान तथा जङ्गली जनावरको आक्रमणलगायतका कारण मानवीय र भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।
तथ्यांकअनुसार करेन्ट लागेर मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ। दुई महिनाको अवधिमा करेन्ट लागेका घटनामा ३९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। यस अवधिमा पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ ।
त्यस्तै, जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना र आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य विभिन्न विपद्का घटनामा थप १३ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार साउन र भदौमा मात्रै आगलागीका ११२, करेन्ट लागेका १०७, पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन् ।
वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्ने भएकाले नदी, खोला, पोखरी तथा अन्य जलाशयमा सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ। विशेषगरी बालबालिका पानीमा डुब्ने तथा करेन्टलगायत जोखिमपूर्ण घटनामा पर्ने गरेको तथ्यांकले देखाएको छ ।
विपद्का ४५९ घटनाबाट कुल दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट मात्रै दुई करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीका घटनाका कारण २१२ परिवारका घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै, बाढी तथा पहिरोबाट ११ लाख ९० हजार रुपैयाँ, चट्याङबाट तीन लाख रुपैयाँ, जङ्गली जनावरको आक्रमणबाट दुई लाख ७२ हजार रुपैयाँ र अन्य विपद्बाट चार लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको तथ्यांकमा उल्लेख छ ।
विपद्का कारण केही परिवार विस्थापितसमेत भएका छन् । विशेषगरी बाढी तथा डुबानका कारण ग्रामीण बस्ती, सडक र अन्य भौतिक संरचनामा असर पर्ने गरेको प्रहरीले जनाएको छ। नदी तथा खोलामा पानीको बहाव बढेर बस्तीमा पस्दा स्थानीयलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको एसएसपी ढकालले बताए ।
विपद्का बेला उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत व्यवस्थापनका लागि स्थानीय प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वय हुँदै आएको उनले बताए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा विपद् व्यवस्थापन तथा उद्धारका विभिन्न काममा दुई हजार ८६९ जना प्रहरी परिचालन भएका छन् । बाढी, डुबान तथा अन्य जोखिमपूर्ण अवस्थाका लागि प्रहरी टोलीलाई तयारी अवस्थामा राखी आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरिएको प्रहरीले जनाएको छ ।
मधेस प्रदेशका आठवटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार विपद्बाट हुने मानवीय क्षति घटाउन पूर्वसावधानी, जनचेतना र स्थानीयस्तरमै जोखिम पहिचानलाई प्राथमिकता दिन आवश्यक छ।