सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ बाट १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले खोजी गरी आइतबार अभिभावकको जिम्मा लगाएको छ।
गाउँपालिका–६ निवासी ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदालाई प्रहरीले खोजी गरी परिवारजनको जिम्मा लगाएको हो। उहाँ १० वर्षअघि आफ्नै घरबाट हराई सम्पर्कविहीन रहनुभएको थियो।
त्यतिबेला करिब छ वर्षका रहेका शिवकुमारको खोजतलासका क्रममा भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग आवश्यक समन्वय गरी उहाँको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रहरीसँगको समन्वयमा उक्त संस्थाले खोजतलास गर्दा शिवकुमारलाई नयाँ दिल्लीमा फेला पारेको थियो। संस्थाका निर्देशक नवीन जोशीले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुखसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक घिमिरेसँग समन्वय गरी शिवकुमारलाई नेपाल ल्याएर प्रहरी कार्यालयमा बुझाउनुभएको हो।
प्रहरी कार्यालयमा बुझाइएका शिवकुमारलाई आइतबार साँझ करिब ८ बजे अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का जनप्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।