सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चोकबाट प्रहरीले बन्दागोभी बोकेको ट्रकमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। प्रहरीले ट्रकबाट २ हजार ५६६ किलो ५६० ग्राम गाँजा बरामद गरेको हो ।
आइतबार राति करिब ११ः५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा ट्रकमा बन्दागोभीले छोपेर राखिएको अवस्थामा ८३ वटा बोरामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए ।
गाँजा बरामद भएपछि प्रहरीले ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र सोही स्थानका १८ वर्षीय सहचालक सन्दिप राई रहेका छन्।
गाँजा र ट्रकसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।