जिल्ला अदालत काभ्रेपलाञ्चोकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध विद्युतीय कारोबारसम्बन्धी मुद्दामा प्रमाण बुझ्ने कागज पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रिट निवेदकले अदालतमा पेस गरेको प्रमाणका सम्बन्धमा सांसद सुनारलाई जानकारी गराई सोसम्बन्धी कागज अदालतमा पेस गर्न आदेश दिएको हो ।
यसअघि अदालतको अवहेलना तथा सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा सुनारसँग ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।
रिट निवेदक मनीषा गौतमका अनुसार उनले अदालतमा तीन घण्टा लामो अडियो प्रमाणका रूपमा पेनड्राइभमा पेस गरेकी थिइन् । तर, पछि बुझ्दा अदालतका कर्मचारीले पेनड्राइभमा तीन मिनेटको मात्रै अडियो रहेको जानकारी दिएका थिए ।
त्यसपछि गौतमले पूर्ण अडियोसहित पुनः निवेदन पेस गरेको बताएकी छन् । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पेस गरिएका प्रमाणका सम्बन्धमा आरोपित सुनारलाई जानकारी गराएर आवश्यक कागज पेस गर्न आदेश दिएको उनले बताइन् ।
मुद्दामा अब अदालतले प्रमाणका सम्बन्धमा दुवै पक्षको प्रक्रिया अघि बढाउनेछ ।