बारा जिल्लाको कोल्हबी नगरपालिकामा नगरस्तरीय लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नगर खेलकुद विकास समिति कोल्हबीको आयोजनामा प्रतियोगिता असोज २६ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।
कोल्हबी नगरपालिका–१ स्थित मठवा फिल्डमा सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका विभिन्न फुटबल क्लब तथा टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा टोलीले असोज २३ गतेभित्र दर्ता गराइसक्नुपर्नेछ। तोकिएको समयभित्र दर्ता भएका टोलीलाई मात्रै प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ।
स्थानीयस्तरमा फुटबलको विकाससँगै नगरभित्र रहेका प्रतिभावान खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले नयाँ खेलाडीको पहिचान र क्षमता विकासमा समेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
नगर खेलकुद विकास समितिले प्रतियोगितामा सहभागी हुन नगरभित्रका सबै फुटबल क्लब तथा टोलीलाई आग्रह गर्दै प्रतियोगिता सफल बनाउन खेलाडी, खेलप्रेमी, संघसंस्था तथा स्थानीयवासीको सहयोगको अपेक्षा गरेको छ।