१. मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय पेस गर्न विश्वविद्यालयलाई निर्देशन
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेस गर्न राजर्षि जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको भन्दै विश्वविद्यालयलाई अध्ययन र अनुसन्धानमार्फत मधेसको शैक्षिक अवस्था पहिचान गर्न आग्रह गरे । विश्वविद्यालय पढाइमा मात्र सीमित नभई समाज र प्रदेशका समस्या समाधानका लागि अनुसन्धानमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
२. जीतपुरसिमराका २४ वडालाई २८ करोड ५० लाखभन्दा बढी बजेट कार्यान्वयनको जिम्मेवारी
जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि वडास्तरका योजनाको सम्झौता, कार्यान्वयन र अन्तिम भुक्तानीको अधिकार वडा कार्यालयलाई दिएको छ।
नगरसभाको निर्णयअनुसार २४ वटै वडाका सचिवले सम्बन्धित वडाका योजनाको प्रक्रिया अघि बढाउनेछन्। यसका लागि २४ वडामा २८ करोड ५० लाख ३८ हजार रुपैयाँभन्दा बढी बजेट कार्यान्वयनको जिम्मेवारी दिइएको छ।
यसअघि योजनाको सम्झौता र भुक्तानी मुख्य कार्यालयबाट हुँदै आएको थियो। अब वडाबाटै सबै प्रक्रिया हुने भएपछि सेवाग्राहीलाई सहज हुने र योजना कार्यान्वयनमा हुने ढिलाइ घट्ने उपमहानगरको अपेक्षा छ।
३. बर्दिबासका सर्भेक्षक शिवकुमार साहविरुद्ध एक लाख घुसको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको नापी कार्यालय बर्दिबासमा कार्यरत सर्भेक्षक शिवकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको नक्सा संशोधन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै घुस मागेका साहलाई आयोगको बर्दिबासस्थित टोलीले एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।
४. रौतहटमा फरार ३७ प्रतिवादी पक्राउ, कैद र जरिवाना असुल हुँदै
फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत रौतहटमा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३७ जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाबाट सात वर्ष दुई महिना २७ दिन कैद तथा दुई लाख ७३ हजार ७ सय ७७ रुपैयाँ जरिवाना असुल हुन बाँकी थियो ।
पक्राउ परेकामाथि जालसाजी, कुटपिट, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, चेक अनादरलगायतका मुद्दा रहेको प्रहरीले जनाएको छ ।
५. वीरगंज सुख्खा बन्दरगाहको जग्गामा रहेका संरचनाको मुआब्जा प्रक्रिया अघि बढाइने
वीरगंज सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गामा रहेका भवन तथा संरचनाको मुआब्जा र क्षतिपूर्ति प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको उपसमितिको बैठकले भवन तथा संरचनाको मूल्यांकन प्रतिवेदन पुनः परीक्षण गर्न सिफारिस गरेको हो ।
भवनको लागत मूल्यांकन तथा ह्रासकट्टीसम्बन्धी विषयमा थप परीक्षण आवश्यक देखिएपछि कानुनी व्यवस्था र प्रचलित कार्यविधिअनुसार भेरिफिकेसन गरी प्रतिवेदन अघि बढाउने निर्णय गरिएको छ।
६. चाडपर्व लक्षित सुरक्षा योजना लागू, महोत्तरीमा १ हजार ३ सय ३१ सुरक्षाकर्मी परिचालन
चाडपर्व नजिकिएसँगै महोत्तरीमा बुधबारदेखि एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल प्रहरीका ७ सय ४७ र सशस्त्र प्रहरीका ५ सय ८४ गरी १ हजार ३ सय ३१ सुरक्षाकर्मी संवेदनशील क्षेत्रमा परिचालन गरिएको छ ।
योजनाअन्तर्गत सीमा नाकामा चौबिसै घण्टा पिकेट, चेकपोइन्ट र संयुक्त गस्ती तथा राजमार्ग र भित्री सडकमा आकस्मिक चेकिङ र मोबाइल गस्ती बढाइएको छ । बजार, बैंक तथा वित्तीय संस्थामा समेत निगरानी बढाइएको प्रशासनले जनाएको छ ।