बारा प्रहरीले विशेष सूचनाका आधारमा १७० ग्राम लागू औषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको खुल्न आएको छ ।
ईलाका प्रहरी कार्यालय सिमरा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमराको राज होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलको कोठा नम्बर १०६ बाट लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यअन्तर्गत मोफस्सिल सिवाना जिल्ला, थाना सिवाना चनौर ग्राम पञ्चायत वडा नम्बर १४ बस्ने ३५ वर्षीय गौतम कुशवाहा, रामगढवा थाना सिंहसिनी ग्राम पञ्चायत वडा नम्बर ७ का ३० वर्षीय रञ्जन कुमार सिंह र वडा नम्बर १० का ४० वर्षीय संजीव कुमार राम रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना लामो समयदेखि लागू औषध तस्करीमा संलग्न रहँदै आएका थिए । लागू औषध तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य पनि भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लागू औषधको कारोबार होटलबाट सञ्चालन हुँदै आएको सूचना पाएपछि प्रहरीले निगरानी बढाउँदै छापा मारेको थियो ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध मुद्दा अन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।