सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका-५ रामबन निवासी ३८ वर्षीय मनोज गुप्ता र उनका भाई ३५ वर्षीय श्रीभगवान गुप्ता रहेका छन् । प्रहरीका अनुसार, भारतबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई गोरखकाली प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।
बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको गतिविधि शंकास्पद लागेपछि जाँच गर्दा ठूलो परिमाणको नगद फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले सो रकमको स्रोतबारे कुनै स्पष्ट जानकारी दिन सकेको छैन् । प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद रूपमा ठूलो परिमाणको रकम लिएर हिँडेको पाइएकाले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुप्ता दाजुभाइलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।