रौतहट । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणका लागि स्थानीयवासीहरू एकजुट भएका छन् । गाउँमा शान्ति, अनुशासन र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, किसान, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा समिति गठन गरिएको छ ।
समाज सुधारका लागि आयोजित बैठकले लागूऔषध तथा नशालु पदार्थको सेवन नियन्त्रण गर्ने, युवालाई कुलतबाट जोगाउने र गाउँमा सकारात्मक सामाजिक वातावरण निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले समितिमा आबद्ध व्यक्तिहरूले चुरोट, खैनीलगायत कुनै पनि नशालु पदार्थ सेवन नगर्ने प्रतिबद्धता जनाएको छ । समितिमा आबद्ध व्यक्तिले त्यस्ता पदार्थ सेवन गरेको पाइएमा ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको सहभागी भोला पाण्डेले जानकारी दिए ।
त्यसैगरी गाउँका कुनै पनि व्यक्तिले गाँजा, चरेसलगायत लागूऔषध तथा नशालु पदार्थ सेवन गरेको पाइएमा जरिवाना गर्ने निर्णयसमेत गरिएको छ । स्थानीयस्तरमै सामूहिक प्रतिबद्धतामार्फत लागूऔषध दुर्व्यसन, सामाजिक विकृति तथा विसङ्गति नियन्त्रण गर्ने लक्ष्य राखिएको सहभागीहरूले बताएका छन् ।
समितिमार्फत निर्णय कार्यान्वयन गर्दै युवालाई दुर्व्यसनबाट टाढा राख्ने, सामाजिक अनुशासन कायम गर्ने र गाउँलाई सभ्य तथा व्यवस्थित बनाउने अभियान सञ्चालन गरिने जनाइएको छ ।
बैठकमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, वडा नम्बर १ का अध्यक्ष जयनाथ कुशवाहा, मेयरका प्रत्याशी रामाप्रवेश यादव, कृष्ण तिवारीलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, किसान, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
स्थानीयवासीको सामूहिक पहलबाट मर्यादपुरमा लागूऔषध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।