पर्साको जिराभवानी गाउँपालिका–४, सुपौलीमा बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा भव्य जलयात्रा निकालिएको छ । श्री नवदुर्गा पूजा समिति, सुपौलीको आयोजनामा निकालिएको जलयात्रासँगै स्थानीय क्षेत्रमा परम्परागत नवरात्रि पूजा तथा नौ राते मेलासमेत सुरु भएको छ ।
जलयात्रामा स्थानीय श्रद्धालु भक्तजन, महिला, युवा तथा विभिन्न उमेर समूहका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । धार्मिक विधिअनुसार पूजा–अर्चना गरी कलशसहित निकालिएको जलयात्राले सुपौली गाउँलाई भक्तिमय र उत्सवमय बनाएको थियो ।
नाचगान, बाजागाजा र माता दुर्गाको जयजयकारसहित निकालिएको जलयात्रामा सहभागी श्रद्धालुहरू नौकाटोलास्थित भौरीमाई मन्दिर पुगेका थिए । त्यहाँबाट जल भरेर उनीहरू धार्मिक आस्था र भक्तिभावका साथ आफ्नो पूजा स्थलमा फर्किएका थिए ।
घटस्थापनासँगै सुरु भएको नवरात्रि पूजाअन्तर्गत नौ दिनसम्म माता दुर्गाको विधिपूर्वक पूजा–आराधना गरिनेछ । यस अवधिमा स्थानीय भक्तजनका साथै आसपासका गाउँ तथा क्षेत्रबाट समेत श्रद्धालुहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
नौ राते मेलालाई व्यवस्थित, सभ्य र भव्य बनाउन श्री नवदुर्गा पूजा समितिका पदाधिकारी, स्थानीय युवा तथा गाउँवासीहरू सक्रिय भएका छन् । मेलाले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्नुका साथै आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
बडादसैँको सुरुवातसँगै सुपौलीमा देखिएको धार्मिक उत्साहले स्थानीय समुदायमा चाडपर्वको रौनक थपेको छ । जलयात्रा, नवरात्रि पूजा र मेलाले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।