उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने करिब २५ वर्षको जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको छ ।
मङ्गलबार धानखेतमा हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ। कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।
हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले बताए । यद्यपि, मृत्युको वास्तविक कारण भने पोस्टमार्टम परीक्षणपछि मात्रै खुल्नेछ ।
कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले आरक्षले पोस्टमार्टम गर्ने तयारी गरेको श्रेष्ठले जानकारी दिए। पोस्टमार्टम परीक्षणपछि हात्तीको मृत्युको कारणबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।