सिमरा – मकवानपुरको अमलेखगञ्जबाट प्रहरीले पुनः दुई किलो ४१ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ का २७ वर्षीय सुनिल मोक्तान र भीमफेदी गाउँपालिका-३ का २० वर्षीय हर्क रुम्बा रहेका छन् । मोटरसाइकल (प्रदेश ०३–००३प ३१२६) मा वीरगंजतर्फ जाँदै गर्दा अमलेखगञ्ज प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यसअघि, मंगलबार पनि प्रहरीले अढाई किलो अफिमसहित चितवनका सञ्चलाल वाइवा (५०) र हेटौंडाका हिरालाल वाइवा (४८) लाई पक्राउ गरेको थियो । प्रहरीले एक महिनामा ३३ किलोभन्दा बढी अफिम बरामद गरिसकेको छ । यस अवधिमा सिमरा र अमलेखगञ्ज क्षेत्रबाट १२ जना लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परिसकेका छन् ।
प्रहरी तथ्यांक अनुसार, पछिल्लो एक महिनामा सिमरा, पथलैया र अमलेखगञ्ज क्षेत्रमा अफिमसहित पक्राउ परेकाहरूको संख्यामा वृद्धि भएको छ ।
पक्राउ परेका सबैलाई जिल्ला अदालतमा पेश गरी लागूऔषध मुद्दा दर्ता गरिने प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए ।