नेपाल-भारत सीमा क्षेत्रका बजारमा नक्कली ‘खुकुरी’ ब्रान्डको चुरोट बिक्री भइरहेको फेला परेको छ ।
आन्तरिक राजस्व कार्यालय पर्साले गरेको बजार अनुगमनकाे क्रममा नक्कली चुरोट फेला पारेको हो । तस्करहरूले नेपालमा उत्पादन हुने लोकप्रिय ‘खुकुरी ब्रान्ड’को हुबहु मिल्ने नक्कली चुरोट उत्पादन गरी सीमावर्ती बजारमा बिक्री गर्दै आएको पाइएको छ । अनुगमनका क्रममा ती चुरोटहरूमा नक्कली अन्तः शुल्क स्टिकर टाँस गरिएको समेत फेला परेको छ ।
गुनासाेकाे अधारमा बजार अनुगमन गर्दा बजारमा नक्कली नक्कली ‘खुकुरी’ ब्रान्डको चुरोटमा नक्कली अन्तः शुल्क स्टिकर टाँस गरि पर्साकाे ग्रामिण भेगमा पर्ने डकैला, लङ्गडी, पाेखरीया लगायतकाे स्थानमा अनुगमनकाे क्रममा खुकुरी चुरोटकै हुबहु नक्कली संस्करण बनाइ बिक्री गरिरहेको अवस्थामा कतिपय पसलबाट फेला पारेकाे आन्तरिक राजश्व कार्यालय वीरगंजका अनुगमन अधिकृतले वीरगंज सिटीलाई बताए । उनका अनुसार, नक्कली चुरोट नेपाली उत्पादनको तुलनामा प्रति बट्टा ३८ रुपैयाँ सस्तोमा बिक्री भइरहेको छ । अनुगमन सुरु भएपछि स्थानीय व्यापारीहरू पसल बन्द गरेर भागेका थिए, जसका कारण ती चुरोटहरू कसरी भित्रिएको हो भन्ने अनुसन्धान गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।
सस्तो मूल्यकै कारण अवैध चुरोटले बजार ओगट्दै गएको र यसले सरकारी राजस्वमा ठूलो क्षति पुगेको उनले बताए । अनुगमनका क्रममा फेला परेको चुरोट भारतको पटना, बिहारस्थित ‘गोल्ड स्टेट टोबागो’ कम्पनीले उत्पादन गरेको पाइएको छ । अवैध चुरोट तस्करीका कारण नेपाल सरकारले उठाउनुपर्ने राजस्व गुमिरहेको र सीमावर्ती बजारहरूमा यस्तो कारोबार व्यापक भइरहेको अनुगमन टोलीले जनाएको छ ।
नेपालमा ‘खुकुरी’ ब्रान्डको चुरोट सूर्य नेपाल प्रा.लि.ले उत्पादन गर्छ । कम्पनीले आफ्नो लोकप्रिय चुरोटको नक्कली संस्करण खुलेआम बिक्री भइरहेको जानकारी पाएपछि उद्योग विभागमा उजुरी दिएको जनाएको छ ।सूर्य नेपालले "राजस्व ठगी रोक्न, अवैध चुरोट नियन्त्रण गर्न र स्थानीय बजारमा हुने नक्कली उत्पादनको बिक्री रोक्न सरकारले तत्काल चनाखो बन्नुपर्छ", भन्दै सरकारी निकायलाई कारबाहीको माग गरेको छ।