फ्रान्समा सम्भावित प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ ।
यसअघि भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि सरकारले सुरक्षा सतर्कता बढाउन लागेको हो । पेरिसमा आयोजित पत्रकार सम्मेलनमा फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएका छन्। उनले हिंसा र लुटपाट गर्न उक्साउने सन्देशहरू सामाजिक सञ्जालमा फैलिरहेको भन्दै सम्भावित अशान्तिप्रति सचेत रहन आग्रह गरेका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यकाल अन्त्यतिर पुगिरहेको र नयाँ निर्वाचन हुन करिब छ महिना बाँकी रहेको अवस्थामा प्रदर्शन चर्किएको समाचारमा उल्लेख छ ।
यसैबीच, हालै सार्वजनिक एक सर्वेक्षणले अति दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा अग्रस्थानमा देखाएको बताइएको छ ।
यसअघि राष्ट्रपति म्याक्रोनले माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग छलफल गरेका थिए। तर, विद्यार्थी प्रतिनिधिहरूले सरकारले आफ्ना माग सम्बोधन गर्ने ठोस प्रस्ताव नल्याएसम्म आन्दोलन जारी राख्न आह्वान गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको बताइएको छ । आन्दोलनमा बढ्दो महँगी र सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको छ ।