रक्सौल | भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको रक्सौलमा प्रहरीले करिब चार करोड भारतीय रुपैयाँ मूल्यको भनिएको १ किलो ८०६ ग्राम स्म्याकजस्तो लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्वी चम्पारणका प्रहरी अधीक्षक कार्यालय, मोतिहारीले सन् २०२६ अक्टोबर २४ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार, अक्टोबर २३ गते साँझ गस्तीका क्रममा सुगौलीबाट लक्ष्मीपुर चेकपोस्ट हुँदै रक्सौलतर्फ सेतो रङको स्कर्पियो एन गाडीमा ठूलो परिमाणमा स्म्याकजस्तो लागुऔषध लैजान लागिएको गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो ।
उक्त सूचनाका आधारमा रक्सौलका अनुमण्डल प्रहरी पदाधिकारीको नेतृत्वमा, प्रखण्ड कृषि पदाधिकारी तथा मोतिहारीको एसटीएफ टोलीसहित संयुक्त छापामार टोली गठन गरिएको थियो । टोलीले लक्ष्मीपुर चेकपोस्ट नजिक छापा मारेर स्कर्पियो एन गाडीबाट १ किलो ८०६ ग्राम स्म्याकजस्तो लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट दुई थान मोबाइल, सुनजस्तो देखिने धातुको एउटा लकेट र स्कर्पियो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा रक्सौल थाना क्षेत्रको वार्ड नम्बर १४ निवासी रमेश कुमार र पलनवा थाना क्षेत्रको बहुअरवा निवासी सन्दीप कुमार रहेका छन् ।
प्रहरी विज्ञप्तिअनुसार पक्राउ परेका सन्दीप कुमारविरुद्ध यसअघि पनि रक्सौल थाना काण्ड नम्बर ३४९/२०२५ अन्तर्गत लागुऔषध नियन्त्रणसम्बन्धी कानुन (एनडीपीएस ऐन) अनुसार मुद्दा दर्ता भएको आपराधिक इतिहास रहेको छ ।
घटनाका सम्बन्धमा रक्सौल थाना काण्ड नम्बर ४७७/२०२६ दर्ता गरी थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
संयुक्त छापामार टोलीमा रक्सौलका अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्द, प्रखण्ड कृषि पदाधिकारी गौतम कुमार, प्रहरी निरीक्षक निर्भय कुमार राय, रक्सौल थानाका प्रमुख रमेश कुमार महतोसहित प्रहरी अधिकारी तथा मोतिहारीको एसटीएफ टोली सहभागी थिए ।
बरामद सामग्री:
स्रोत: पूर्वी चम्पारण प्रहरी अधीक्षक कार्यालय, मोतिहारीको प्रेस विज्ञप्ति, २४ अक्टोबर २०२६।

