रक्सौल, भारत । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै सीमाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन भारतीय सुरक्षा निकायले निगरानी तीव्र पारेका छन् ।
भारतीय सञ्चारमाध्यम भ्वाइस अफ रक्सौलका अनुसार पूर्वी चम्पारणका प्रहरी अधीक्षक स्वर्ण प्रभातले बिहीबार साँझ लाला छपरा–मटियरवा सीमावर्ती क्षेत्रको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले सीमामा खटिएका सशस्त्र सीमा बल (एसएसबी) तथा प्रहरी अधिकारीहरूसँग भेटघाट गरी सुरक्षा अवस्था र गतिविधिबारे जानकारी लिएका थिए ।
सीमावर्ती क्षेत्रको निरीक्षण गर्नुअघि प्रहरी अधीक्षक प्रभातले छौडादानो प्रहरी थानाको अनुगमन गरेका थिए। त्यसपछि रक्सौलका प्रहरी उपाधीक्षक (एसडीपीओ) मनीष आनन्दसँगै सीमावर्ती क्षेत्रमा पुगेका उनले बेलदरवा एसएसबी क्याम्पका अधिकारी तथा आदापुर प्रहरी थानाका प्रमुखसँग सीमा सुरक्षासम्बन्धी विषयमा छलफल गरेका थिए ।
निरीक्षणका क्रममा उनले भारतीय तथा नेपाली क्षेत्रका स्थानीय बासिन्दासँग संवाद गर्दै उनीहरूका समस्या र दैनिक जनजीवनबारे जानकारी लिएका थिए । आपत्कालीन अवस्थामा प्रहरी सहायता आवश्यक परे डायल ११२ मा सम्पर्क गर्न आग्रह गर्दै उनले प्रहरी र नागरिकबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
सीमावर्ती क्षेत्रको निरीक्षणपछि प्रहरी अधीक्षक प्रभातले रक्सौल प्रहरी थानाको समेत अनुगमन गरेका थिए। उनले अपराध नियन्त्रण, सुरक्षा सतर्कता र प्रहरीको दैनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए। साथै, प्रहरी मेसको सरसफाइ तथा खानाको गुणस्तरमा पनि विशेष ध्यान दिन आग्रह गरेका थिए ।
दीपावली र छठ पर्वका बेला भारत–नेपाल सीमावर्ती क्षेत्रमा मानिसको आवतजावत बढ्ने भएकाले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निरीक्षण गरिएको जनाइएको छ । चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्न भारतीय प्रहरी र एसएसबीबीच समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउने तयारी गरिएको छ ।