नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न आयोजना हुने कार्यक्रममा १९ पदाधिकारी र २१० केन्द्रीय सदस्य गरी २२९ जनाले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
शपथ लिने पदाधिकारीमा एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र ११ सहमहामन्त्री रहेका छन् । सभापति गगन थापाले भने यसअघि नै दसैँको फूलपातीका दिन असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट सभापतिसहित २३१ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए। तर, महिला खुलातर्फ निर्वाचित विनिता खड्काको निर्वाचन परिणाम छानबिनका कारण रोकिएको छ । उनको परिणाम औपचारिक रूपमा सार्वजनिक नभएकाले हालसम्म २३० जनाको मात्रै निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
सभापति थापाले यसअघि नै शपथ लिइसकेकाले आज औपचारिक निर्वाचन परिणाम सार्वजनिक भएका बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो ।