आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको तयारी तीव्र पारेको छ । पार्टीले निर्वाचनभन्दा अगावै सम्भावित उम्मेदवारको खोजी, मूल्याङ्कन र प्रशिक्षणका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गरिरहेको छ । रास्वपाका अनुसार गाउँपालिका तहमा मात्रै उम्मेदवार बन्न चाहने २० हजारभन्दा बढीले आवेदन दिएका छन् ।
परम्परागत राजनीतिक दलहरूमा निर्वाचनको मुखमा उम्मेदवार छनोट गर्ने र शीर्ष नेताको निर्णयका आधारमा टिकट वितरण गर्ने प्रवृत्ति रहेको भन्दै रास्वपाले यसपटक व्यवस्थित प्रक्रियामार्फत उम्मेदवार छनोट गर्ने तयारी गरेको हो ।
सोमबार विराटनगर महानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित अन्तरक्रियात्मक कार्यक्रममा उम्मेदवार छनोटको विधि, पार्टीको चुनावी रणनीति र स्थानीय तहमा नेतृत्वका आकाङ्क्षीहरूको तयारीबारे छलफल भएको थियो । विराटनगर बसपार्कस्थित आरके पार्टी प्यालेसमा आयोजित कार्यक्रममा महानगरका १९ वटै वडाका सभापतिसहित नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
करिब ६ घण्टासम्म चलेको कार्यक्रममा रास्वपाका सचिवालय सदस्य लिमा अधिकारी, प्रमुख सचेतक प्रकाशचन्द्र परियार र केन्द्रीय सदस्य रोहन कार्कीलगायत नेताहरूले सहजीकरण गरेका थिए ।
अन्तरक्रियामा सहभागी मेयर, उपमेयर तथा वडाध्यक्षका आकाङ्क्षीहरूले आफ्ना योजना र दृष्टिकोण प्रस्तुत गरेका थिए । अधिकारीका अनुसार विराटनगर महानगरपालिकाको मेयर पदका लागि मात्रै पार्टीभित्र ५० भन्दा बढीले आकाङ्क्षा देखाएका छन् ।
अधिकारीले कार्यक्रमको उद्देश्य सम्भावित उम्मेदवारहरूको वास्तविक तयारी बुझ्नु र आगामी निर्वाचनका लागि उनीहरूलाई तयार पार्नु रहेको बताइन् । केही आकाङ्क्षीले स्पष्ट योजना र दृष्टिकोण प्रस्तुत गरे पनि केहीको तयारी अझै अपुग देखिएको उनको भनाइ थियो ।
गाउँपालिकामै २० हजारभन्दा बढी आवेदन
रास्वपाले स्थानीय तहको उम्मेदवार बन्न इच्छुक संगठित सदस्यका लागि सुरु गरेको ‘क्यान्डिडेट क्लब’ मा उल्लेख्य आकर्षण देखिएको जनाएको छ । अधिकारीका अनुसार गाउँपालिका तहमा मात्रै २० हजारभन्दा बढी आवेदन प्राप्त भएका छन् ।
‘गाउँपालिकामा २० हजार आवेदन पर्यो । अहिले नगरपालिकाको आवेदन प्रक्रिया जारी छ, त्यो अझै बन्द भइसकेको छैन,’ अधिकारीले बताइन् ।
नगरपालिकाको आवेदन प्रक्रिया सम्पन्न भएपछि उपमहानगरपालिका र महानगरपालिकाका लागि पनि आवेदन खुला गरिने उनले जानकारी दिइन् । सबै तहबाट आवेदन सङ्कलन भएपछि उम्मेदवारका आकाङ्क्षीहरूलाई लिडरसिप एकेडेमीमार्फत प्रशिक्षण दिइने र त्यसपछि आन्तरिक निर्वाचन अर्थात् प्राइमरी प्रक्रिया अघि बढाइने रास्वपाको तयारी छ ।
चार आधारमा उम्मेदवार छनोट गरिने
रास्वपाले उम्मेदवार छनोटमा नेताको सिफारिस र भनसुनभन्दा विधि, योग्यता तथा आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता दिने दाबी गरेको छ । पार्टीले उम्मेदवार छनोटका लागि चारवटा आधार तय गरेको जनाएको छ ।
पार्टीका अनुसार राजनीतिक सामीप्यतालाई २५ प्रतिशत, लिडरसिप एकेडेमीमार्फत हुने प्रशिक्षण तथा मूल्याङ्कनलाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र आन्तरिक निर्वाचनलाई ४० प्रतिशत भाराङ्क दिइनेछ ।
आन्तरिक निर्वाचनमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन् । अधिकारीका अनुसार आन्तरिक निर्वाचनको ४० प्रतिशत भाराङ्कलाई छुट्टै १०० प्रतिशत मानेर त्यसको ठूलो हिस्सा वडा तहलाई दिइनेछ । पालिका, जिल्ला, निर्वाचन क्षेत्र र प्रदेश तहलाई पनि भाराङ्क छुट्याइनेछ भने केन्द्रीय सदस्य तथा सांसदहरूको भाराङ्क जम्मा १० प्रतिशत रहने उनले बताइन् ।
यस व्यवस्थाले केन्द्रका नेताको प्रभाव घटाउँदै स्थानीय तहका कार्यकर्तालाई उम्मेदवार छनोटमा बढी निर्णायक भूमिका दिने रास्वपाको दाबी छ ।
पार्टीबाहिरका योग्य व्यक्तिलाई पनि अवसर
रास्वपाले पार्टीबाहिर रहेका योग्य, सक्षम र इमानदार व्यक्तिलाई पनि स्थानीय तहको नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’ को नीति अघि सारेको छ ।
अधिकारीका अनुसार महानगरपालिकाको मेयर तथा उपमेयरजस्ता जिम्मेवारीका लागि आवश्यक क्षमता, योग्यता र कार्ययोजना भएका व्यक्तिको खोजी गरिनेछ । सम्भावित उम्मेदवारहरूले आफ्नो योजना व्यवस्थित ‘ब्लुप्रिन्ट’ सहित प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिइन् ।
अन्तरक्रियामा सहभागी कार्यकर्ताले उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत हुनुपर्ने माग गरेका थिए । निर्वाचनअघि एउटा मापदण्ड तय गर्ने तर अन्तिम समयमा फरक निर्णय गर्ने प्रवृत्ति रास्वपामा दोहोरिन नहुने उनीहरूको भनाइ थियो ।
अधिकारीले पार्टीले तय गरेको विधिअनुसार नै उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
सातै प्रदेशमा अन्तरक्रिया अभियान सञ्चालन गरिने
विराटनगरमा आयोजित अन्तरक्रियालाई प्रभावकारी ठहर गर्दै रास्वपाले यस्तै कार्यक्रम सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका तथा अन्य स्थानीय तहमा विस्तार गर्ने तयारी गरेको छ ।
अधिकारीले स्थानीय तहका नेता, कार्यकर्ता र सम्भावित उम्मेदवारबीच छलफल तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टी नेतृत्वलाई सुझाव दिने बताइन् ।
उनका अनुसार यस्ता कार्यक्रमले उम्मेदवारहरूको तयारी बुझ्न, स्थानीय गुनासा सम्बोधन गर्न र पार्टीको राजनीतिक कार्यशैलीबारे स्पष्टता दिन सहयोग गर्नेछ ।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा क्षमतावान व्यक्तिलाई अघि सार्ने र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेको जनाएको छ । यद्यपि, उम्मेदवार छनोटका लागि तय गरिएको विधि व्यवहारमा कति निष्पक्ष र प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषय आगामी प्रक्रियाले देखाउनेछ ।