प्रतिनिधिसभा सदस्य आशिका तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका बालबालिकासम्बन्धी भिडियोमाथि प्रश्न उठेको छ । बालबालिकाको अनुहार र पहिचान खुल्ने गरी भिडियो सार्वजनिक गरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको आलोचना गरेका छन् ।
गत कात्तिक ६ गते अपराह्न ३ बजेर २४ मिनेटमा सांसद तामाङले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा २ मिनेट ३ सेकेन्डको एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा एक बालक खोलानजिकै बसेर हातमा भ्यागुता समातिरहेको देखिन्छ । तामाङले ‘भ्यागुता खान हुँदैन नि’ भन्दै बालकको हातबाट भ्यागुता लिएर खोलामा फालिदिन्छिन्। त्यसपछि बालकलाई ललिपप दिएर त्यहाँबाट हिँड्छिन् ।
उक्त भिडियोमा बालकको गतिविधिलाई सामाजिक सञ्जालमा प्रस्तुत गरिएको विषयलाई लिएर प्रयोगकर्ताहरूले प्रश्न उठाएका छन् । भिडियोमा प्रतिक्रिया जनाउनेमध्ये कतिपयले बालबालिकालाई सामाजिक सञ्जालमा सामग्रीका रूपमा प्रस्तुत गर्दा उनीहरूको गोपनीयता र मर्यादामा ध्यान दिनुपर्ने बताएका छन् ।
हिमाल थापा नामका एक प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्, ‘सांसद भएर एउटा अबोध बच्चाको गतिविधिलाई डलर कमाउने कन्टेन्ट मटेरियल नबनाउन आशिका दिदी ।’
अर्का एक प्रयोगकर्ताले बालकको गोपनीयताको विषय उठाउँदै सामाजिक सञ्जालमा बालबालिकाको बाल्यावस्थालाई आर्थिक लाभका लागि प्रयोग गर्न नहुने धारणा व्यक्त गरेका छन् ।
यसैबीच, सांसद तामाङले सोही दिन साँझ ५ बजेर ४ मिनेटमा अर्को भिडियो पनि सार्वजनिक गरेकी थिइन् । ‘यति सानो बालबालिकालाई कृपया मद्यपान तथा धूम्रपान खरिद गर्न नपठाउनु होला’ भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको उक्त भिडियोमा एक बालिका हातमा मदिराजन्य सामग्री भएको भनिएको वस्तु बोकेर हिँडिरहेको देखिन्छिन् ।
उक्त भिडियोमा पनि बालिकाको अनुहार स्पष्ट देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। बालिकाको पहिचान खुल्ने गरी भिडियो सार्वजनिक गरिएको विषयलाई लिएर प्रयोगकर्ताहरूले प्रश्न उठाएका छन् ।
जेनजी अभियन्ता माजिद अन्सारीले भिडियोमा टिप्पणी गर्दै बालबालिकाको गोपनीयतासम्बन्धी कानुनी व्यवस्थाको स्मरण गराएका छन्। उनले बालबालिकाको अनुहारसमेत अस्पष्ट नबनाई भिडियो सार्वजनिक गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
सांसद तामाङले सार्वजनिक गरेका यी भिडियोले बालबालिकाको गोपनीयता, सामाजिक सञ्जालमा सामग्री प्रकाशन गर्दा अपनाउनुपर्ने संवेदनशीलता र जनप्रतिनिधिको जिम्मेवारीबारे बहस सिर्जना गरेका छन् ।
बालबालिकाको संरक्षण र गोपनीयता सुनिश्चित गर्नु राज्य, अभिभावक तथा समाजको साझा जिम्मेवारी हो। सार्वजनिक व्यक्तित्वले बालबालिकासम्बन्धी सामग्री सार्वजनिक गर्दा उनीहरूको पहिचान, मर्यादा र गोपनीयतामा पर्न सक्ने प्रभावबारे विशेष ध्यान दिनुपर्ने देखिन्छ ।