सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिरको पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पुल निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै अब पुल सञ्चालनका लागि धेरै समय कुर्नु नपर्ने बताएका छन् ।
मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत २१ सेकेन्डको भिडियो सार्वजनिक गर्दै पुल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन् ।
मन्त्री लम्सालका अनुसार कमला पुलका बाँकी तीन स्पानमध्ये पहिलो स्पानको स्ल्याब ढलान सम्पन्न भइसकेको छ। बाँकी दुई स्पानको स्ल्याब कास्टिङको काम आगामी पाँच दिनभित्र सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ ।
त्यसैगरी, पुल निर्माणसँगै नदी नियन्त्रणको काम पनि निरन्तर भइरहेको उनले बताएका छन् । निर्माण कार्यलाई तीव्रता दिँदै आगामी मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मन्त्रीको भनाइ छ ।
‘१५ वर्षदेखि रुग्ण बनेको आयोजनाको सञ्चालन हाम्रो प्राथमिकतामा छ,’ मन्त्री लम्सालले फेसबुकमा लेखेका छन् ।
सिरहा र धनुषालाई जोड्ने कमला पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसक्दा दुवै जिल्लाका नागरिकले आवतजावतमा सास्ती भोग्दै आएका छन् । पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायी प्रभावित हुँदै आएका छन् ।
वर्षौंदेखि अलपत्र रहेको पुल सञ्चालनमा आउने आश्वासन पटक–पटक सार्वजनिक भए पनि काम सम्पन्न हुन सकेको छैन । अब मन्त्रीले तोकेको मंसिर पहिलो साताको समयसीमाभित्र पुल सञ्चालनमा आउँछ वा आउँदैन भन्ने विषयमा स्थानीयको चासो बढेको छ ।