मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन् ।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अहिलेसम्म ठोस सहमति भइसकेको छैन ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा नेपाल र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको बताएका छन् । चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याउने तयारी रहेको उनको भनाइ छ ।
नयाँ राजनीतिक समीकरणसँगै सरकारको नेतृत्वका लागि तीनवटै दलले दाबी गर्दै आएका छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपा नेपालले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान राख्दै आएको छ ।
जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको जानकारी दिएका छन् ।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा हाल जसपा नेपालका २७, एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य रहेका छन् ।
तीन दलबीच सहमति जुटे एमाले, जसपा नेपाल र जनमत पार्टीको समर्थनमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । यद्यपि, नेतृत्वको विषयमा सहमति हुन बाँकी रहेकाले नयाँ सरकार गठनको प्रक्रिया कुन दिशामा अघि बढ्छ भन्ने स्पष्ट भइसकेको छैन ।