सप्तरीको बलानबिहुल गाउँपालिका –५ स्थित रहेको प्रहरी चौकी आफै असुरक्षित छ । खुला परिसरमा टिनले छाएको सानो कोठामा रहेको प्रहरीचौकी हेर्दा पनि गाईगोठजस्तै लाग्छ ।
सीमावर्ती क्षेत्रमा रहेको उक्त प्रहरी चौकी र त्यहाँ बसेर सुरक्षाको जिम्मेवारी सम्हाल्दै आइरहनु भएका प्रहरी कर्मचारीको दिनचर्या अहिले त्रासमा बितिरहेको छ । कविर मन्दिरको पोखरीको डिलमा रहेको प्रहरी चौकीको पश्चिमतर्फ टिनले छाएका दुई कोठा छ ।
दक्षिणतर्फ पनि दुई कोठे टिनले छाएको टहरा छ । यही चारवटा कोठामा प्रहरीको बसोबास र कार्यालय रहेको छ । यी संरचनाको वरिपरि घेरबार केही छैन् । खुला परिसरबाट जोकोही सहजै भित्र पस्न सक्ने अवस्था छ । वर्षा याममा चौकी परिसर डुबानमा पर्ने गरेको प्रहरी सहायक निरीक्षक प्रदीपकुमार विष्ट बताउनुहुन्छ ।
चौकीको भौतिक अवस्था सामान्य प्रहरी कार्यालयजस्तो नदेखिए पनि यसले सम्हाल्नुपर्ने जिम्मेवारी भने संवेदनशील छ । भारतको बिहार राज्य अन्तर्गत पर्ने बलुवा ९वोर्डर० प्रहरी चौकीबाट करिब तीनसय मिटर दक्षिणमा छ । सीमावर्ती क्षेत्रमा पर्ने भएकाले भारतबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण गर्नु यहाँ कार्यरत प्रहरीको नियमित जिम्मेवारी हो ।
अवैध कारोबार नियन्त्रणमा खटिने यहाँका प्रहरी नै आक्रमणको जोखिममा रहँदै आएका छन् । प्रहरी चौकी रामनगर कोदरकट्टीमा प्रहरी सहायक निरीक्षक विष्टको नेतृत्वमा ६ जना प्रहरी कार्यरत छन् । टोलीमा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दार, एक सहायक हवल्दार र दुई प्रहरी जवान छन् । सीमाको निगरानीदेखि नियमित गस्ती र अवैध सामान ओसारपसार नियन्त्रणसम्मको जिम्मेवारी उहाँहरुमा छ ।
प्रहरीमाथि आक्रमण
कात्तिक ७ गते साँझ करिब ५ बजे भारतबाट अवैध रुपमा सामान बोकेर भारतीय नम्बर प्लेटका दुई पल्सर मोटरसाइकल आउँदै थिए । प्रहरी सहायक निरीक्षक विष्ट र एक हवल्दारले ती मोटरसाइकल रोक्न खोज्नुभयो ।
प्रहरीलाई देखेपछि चालकहरु भाग्न थाले । प्रहरीले पछ्याउने क्रममा बलानबिहुल गाउँपालिका ५ र बोदेबर्साइन नगरपालिका ८ को सीमामा पर्ने बिहुल खोलामा एक जनालाई नियन्त्रणमा लियो । तर, अर्को मोटरसाइकल चालकले प्रहरी सहायक निरीक्षक विष्टमाथि बाँसको भाटाले आक्रमण गरेर फरार भए ।
प्रहरीका अनुसार भारतबाट सामान ल्याउनेमा बलान बिहुल ५ का देवकुमार यादव र बोदेबर्साइन ३ का रामदुलार यादव थिए । विष्टमाथि आक्रमण गरेको आरोप लागेका देवकुमारलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन् ।
उक्त घटनामा भारतबाट अवैध रुपमा ल्याइएका करिब एक लाख १७ हजार रुपियाँ मूल्यका पटाका लगायत विस्फोटक पदार्थ रहेको प्रहरी सहायक निरीक्षक विष्टले जानकारी दिनुभयो ।
अवैध सामान नियन्त्रण गर्न खोज्दा उल्टै आक्रमणको सामना गर्नु परेपछि सीमामा खटिने प्रहरी कर्मचारीकै सुरक्षा अवस्थामाथि प्रश्न उठेको छ । यसअघि गत असार ४ गते पनि बलानबिहुलकै रौतहटमा भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा तत्कालीन प्रहरी सहायक निरीक्षक रामकुमार यादवमाथि आक्रमण भएको थियो ।
प्रहरीका अनुसार बोदेबर्साइन नगरपालिका ८ का लिलाधर दासले उहाँमाथि आक्रमण गर्नुभएको थियो । उक्त घटनामा संलग्न भनिएका दास जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेको हो ।
एउटै क्षेत्रमा अवैध सामान ओसारपसार नियन्त्रणको क्रममा दुई जना प्रहरी चौकी इन्चार्जमाथि आक्रमणका घटना हुनुले सीमावर्ती क्षेत्रमा खटिने सुरक्षाकर्मीको चुनौतीलाई उजागर गरेको छ ।
प्रहरी सहायक निरीक्षक विष्टले आफूहरु चुनौतीबिच सुरक्षा दिने काम गरिरहेको बताउनुभयो । चौकीको खुला परिसर र कमजोर भौतिक संरचनाले प्रहरीमाथि नै सुरक्षा खतरा रहेको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले प्रहरी सहायक निरीक्षक विष्टमाथि आक्रमण गर्नेउपर विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर रामदुलार यादवलाई पक्राउ गरिसकेको जानकारी दिनुभयो । उहाँले सोही घट्नामा संलग्न अर्का व्यक्ति देवकुमार यादवको खोजी भइरहेको बताउनुभयो ।