दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यादवलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत क्रिप्टोकरेन्सी (क्रिप्टो/यूएसडीटी) को ठूलो परिमाणमा कारोबार गरेको पाइएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले गरेको अनुसन्धानका क्रममा यादवको बाइनान्स खातामार्फत दुई अर्ब १६ करोड एक लाख २० हजार आठ सय २१ रुपैयाँ बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।