जनकपुरधाम । तिहार तथा छठ पर्व नजिकिँदै जाँदा जनकपुरधामका बजारमा पूजापाठमा प्रयोग हुने बाँसका सामग्री किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ ।
जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजाका लागि आवश्यक छिट्टी, डाला, नाङ्लो, सुप, कोनिया र डगरीलगायत बाँसबाट निर्मित सामग्री किन्नेको घुइँचो लाग्न थालेको हो । पर्व नजिकिएसँगै माटोका भाँडा, दियो तथा अन्य पूजासामग्रीको किनमेल पनि बढेको छ ।
छठ पर्वमा सूर्यदेवलाई अर्घ्य दिँदा प्रसाद तथा पूजाका सामग्री राख्न बाँसबाट बनेका सामग्री प्रयोग गर्ने परम्परा छ । यही परम्परालाई निरन्तरता दिँदै श्रद्धालुहरू तिहारअघि नै छठ पूजाका सामग्री जुटाउन थालेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–८ की छठ व्रतालु गंगा साहले छठ नजिकिँदै जाँदा बजारमा हुने भीडभाडबाट बच्न तिहारअघि नै आवश्यक सामग्री किनमेल गर्ने गरेको बताउनुभयो ।
“यस्तो पवित्र पर्वलाई व्यवस्थित बनाउन छठका सामग्री तिहारअघि नै जुटाउने गरिन्छ । तिहारपछि छठको प्रसाद तयार गर्न पनि समय दिनुपर्ने भएकाले किनमेल पहिले नै सिध्याउनुपर्छ,” उहाँले भन्नुभयो ।
अर्की छठ व्रतालु अनिता सिंहले बजारमा विभिन्न आकर्षक र सस्ता सामग्री उपलब्ध भए पनि छठ पूजाका लागि बाँसबाट बनेका सामग्रीलाई नै प्राथमिकता दिने गरिएको बताउनुभयो । छठ पर्वमा कुनै कमी नहोस् भन्ने उद्देश्यले करिब दुई साताअघि नै किनमेल सुरु गर्ने गरिएको उहाँको भनाइ छ ।
जनकपुरधामका गंगासागर, धनुषसागर र अरगज्जा सरलगायत जलाशयमा छठ मनाउने परम्परा छ । छठका लागि बाँसका सामग्रीको माग बढेसँगै परम्परागत रूपमा यस्ता सामग्री बनाउँदै आएका डोम समुदायका कारीगर तथा व्यवसायीलाई आम्दानीको अवसरसमेत मिल्ने गरेको छ ।
यस समुदायका धेरै परिवारले पुस्तौँदेखि बाँसका चोया र कप्टेरा प्रयोग गरेर विभिन्न सामग्री बनाउँदै आएका छन् । छठजस्ता पर्वका बेला बाँसका सामग्रीको माग बढ्ने भएकाले उनीहरूका लागि यो समय आर्थिक उपार्जनको महत्वपूर्ण अवसर बन्ने गरेको छ ।
यद्यपि, प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग र परम्परागत सीपप्रति नयाँ पुस्ताको घट्दो आकर्षणले बाँसका सामग्री बनाउने पेसा चुनौतीमा पर्दै गएको छ ।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वमा बाँसका सामग्रीको प्रयोगले तराई मधेशको मौलिक संस्कृति र पहिचानलाई समेत उजागर गर्दै आएको छ ।