‘अर्णव’ चक्रवातको प्रभावका कारण पछिल्ला तीन दिनदेखि परेको वर्षा र चलेको हावाहुरीले सप्तरीका विभिन्न स्थानीय तहमा धानबालीमा क्षति पुर्याएको छ । धान पाकेर काट्ने तथा घर भित्र्याउने तयारीमा रहेका किसानको बाली खेतमै ढलेपछि उनीहरू चिन्तित बनेका छन् ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका, खडक नगरपालिका र रुपनी गाउँपालिकालगायतका क्षेत्रमा वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । कतिपय स्थानमा धानका बाला खेतमै ढलेका छन् भने केही खेतमा पानी जम्दा काट्न तयार भएको धान भित्र्याउन समस्या भएको छ ।
डाक्नेश्वरी नगरपालिकाका किसान कमलेशकुमार यादव, जगदीश मुखिया, रेणुदेवी, राजदेव यादव, अरुणकुमार यादव र भोलाप्रसादलगायतको धानबालीमा क्षति पुगेको बताइएको छ । पाकेर काट्ने अवस्थामा पुगेको धान हावाहुरीले ढलाएपछि बाली काट्न र स्याहार्न कठिनाइ भएको उहाँहरूको भनाइ छ ।
त्यसैगरी, महदेवा गाउँपालिकाका राजनारायण साह, विजय यादव लगायतका किसानको खेतमा पनि धान ढलेको छ । धानका बाला झरेर खेतमा फैलिएका कारण काट्ने र समेट्ने काम झन्झटिलो बनेको उहाँहरूले बताउनुभएको छ ।
रुपनी गाउँपालिकाका तारणीप्रसाद साह, अरुण यादव लगायतका किसानको धानबालीसमेत हावाहुरी र वर्षाले ढलेको छ । खेतमा ढलेको धानका साथै काटेर राखिएका केही धानका पाजा तथा पराल वर्षाको पानीले भिजेका छन् । लामो समयसम्म भिजेर रहेका धानका बालामा अङ्कुरणसमेत हुन थालेको उहाँहरूको भनाइ छ ।
धान पाकेर काट्ने र घर भित्र्याउने अन्तिम तयारी भइरहेको समयमा अचानक आएको वर्षा र हावाहुरीले किसानको मेहनतमा असर पुर्याएको हो । वर्षभरि खेतमा श्रम र लगानी गरेका किसानलाई उत्पादन भित्र्याउने समयमा प्रतिकूल मौसमले थप समस्या सिर्जना गरेको छ ।
विशेषगरी लामो पराल भएका धानका जात हावाहुरीका कारण बढी ढलेका छन् । खेतमा पानी जमेकाले धान काट्न मेसिन तथा अन्य कृषि औजार प्रयोग गर्नसमेत कठिनाइ भएको किसानहरूको भनाइ छ । काटेर खेतमा राखिएको धान भिज्दा खराब हुने र समयमै सुकाउन नसके उत्पादन नोक्सान हुने जोखिमसमेत बढेको छ ।
धानबालीमा भएको क्षतिले यस वर्षको आम्दानी प्रभावित हुने चिन्ता किसानमा बढेको छ । कृषि पेसामै निर्भर रहेका परिवारका लागि धानबालीमा भएको क्षतिले थप समस्या सिर्जना गरेको छ । किसानहरूले शनिबार अपराह्नदेखि मौसममा सुधार आएपछि ढलेको धान छिटो काटेर सुकाउने र सुरक्षित रूपमा भित्र्याउने प्रयास गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताका अनुसार जिल्लामा ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये प्रत्येक वर्ष करिब ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यस वर्ष जिल्लामा शतप्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख मेहताले ‘अर्णव’ चक्रवातको प्रभावस्वरूप भएको वर्षा र हावाहुरीले जिल्लाका विभिन्न स्थानमा धानबालीमा सामान्यदेखि आंशिक क्षति पुर्याएको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाका विभिन्न पालिकाबाट क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।
लामो पराल भएका धानका बाला हावाहुरीका कारण ढलेको र खेतमा पानी जमेकाले पाकेको धान काट्न समस्या भएको उहाँले बताउनुभयो । यद्यपि, हालसम्म प्राप्त प्रारम्भिक जानकारीका आधारमा धानको कुल उत्पादनमा ठूलो असर पर्ने अवस्था नरहेको उहाँको भनाइ छ । क्षतिको वास्तविक अवस्था विवरण सङ्कलनपछि मात्रै स्पष्ट हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।