अदालतबाट जरिवाना तोकिएको रकम नतिरी फरार रहेका १२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरू कुटपिट र घरेलु हिंसा मुद्दामा अदालतबाट सजाय पाएका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कायार्लय रौतहटका प्रहरी नायब उपरिक्षक दीपक कुमार रायका अनुसार विभिन्न मितिमा अदालतबाट फैसला भई जरिवाना तोकिएका तर तोकिएको रकम नतिरी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।
रायका अनुसार, फैसला भएर पनि जरिवाना नतिरी फरार भएकाहरूलाई खोजी गर्दै जाँदा १२ जना पक्राउ परेका छन् । तीमध्ये ६ जना कुटपिट मुद्दाका दोषी र ६ जना घरेलु हिंसा मुद्दाका दोषी हुन् । प्रहरीले पक्राउ परेकाहरूलाई थप कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अदालत रौतहटमा बुझाएको छ ।
रौतहट प्रहरीले जारी गरेको विज्ञप्तिमा अदालतबाट तोकिएको जरिवाना रकम २५ रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म रहेको उल्लेख छ । घरेलु हिंसा मुद्दाका प्रतिवादीहरूलाई अदालतले अधिकतम ३ हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो । तर जरिवाना तिर्न अस्वीकार गर्दै फरार भएकाले उनीहरूलाई पक्राउ गरी अदालतसमक्ष उपस्थित गराइएको प्रहरीको भनाइ छ ।
रौतहट प्रहरीले अदालतबाट सजाय पाएका तर कार्यान्वयन नगरेका अन्य फरार प्रतिवादीहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।