स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको जनाएको छ ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले हालसम्म महामारीको अवस्था नरहेको उनले बताए ।
उनका अनुसार बाढी प्रभावित २१ हजार ३९१ जनालाई १४ वटा होल्डिङ सेन्टरमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यस्तै, ९ हजार ५६४ जनालाई फिल्डमै खटिएका आकस्मिक चिकित्सा टोली तथा स्वास्थ्य शिविरमार्फत उपचार र स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
मानसिक स्वास्थ्य सेवातर्फ १३९ जना जनशक्तिको सहयोगमा ९ हजार ३६८ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको पौडेलले जानकारी दिए ।
यसैगरी, खानेपानीका १५ वटा नमुना परीक्षण गर्दा पाँच वटामा दिसामा पाइने जीवाणु भेटिएको उनले बताए । दूषित पानीबाट हुन सक्ने रोगको जोखिम न्यूनीकरण गर्न क्लोरिनेसन तथा पानी शुद्धीकरण अभियान सञ्चालन गरिएको विभागले जनाएको छ ।
पौडेलका अनुसार रसुवामा २१ हजार ६०० र नुवाकोटमा ८० हजार ५२३ गरी कुल १ लाख २ हजार १२३ मात्रा मुखबाट खुवाइने खोप प्रदान गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, रोग नियन्त्रण तथा निगरानीका कार्यक्रमलाई निरन्तरता दिइएको विभागले जनाएको छ ।