रौतहटको गौरमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् । गोली लागेर गौर नगरपालिका–४ गढवा टोलका २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएराति करिब सवा ९ बजे गढवा टोलस्थित पानी ट्यांकी नजिक यादवमाथि गोली प्रहार भएको थियो ।
गोली लागेर घाइते भएका यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी गोलीका छवटा छर्रा लागेको छ ।
घटनास्थलबाट पेस्तोलका तीनवटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ । यादवमाथि कसले र किन गोली प्रहार गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।