रौतहटको मौलापुर बजार क्षेत्रमा जङ्गली बाँदरको आतंक फैलिएको छ । बाँदरले पटक–पटक मानिसमाथि आक्रमण गर्दा करिब १५ जना घाइते भएका छन् ।
मंगलबारदेखि बुधबार बिहानसम्म मौलापुर बजारस्थित स्मार्ट चोक आसपास बाँदरले घर, पसल तथा अस्पताल परिसरमा प्रवेश गरी मानिसमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । बाँदरको आक्रमणबाट हालसम्म करिब १५ जना घाइते भइसकेको बताइएको छ ।
बाँदरको आतंकका कारण मौलापुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीसमेत त्रसित बनेका छन् । अस्पताल परिसरमै बाँदर प्रवेश गरेर आक्रमण गर्न थालेपछि नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत असहजता उत्पन्न भएको स्थानीयको गुनासो छ ।
बजार क्षेत्रमा बाँदरको आक्रमण बढ्दै गएपछि स्थानीयले तत्काल नियन्त्रणका लागि मौलापुर नगरपालिका र सुरक्षा निकायसँग माग गरेका छन् । थप मानवीय क्षति हुन नदिन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसीले बाँदरको आक्रमणबाट मानिसहरू घाइते भएको घटनाको पुष्टि गरेका छन् ।
उनका अनुसार जङ्गली बाँदर नियन्त्रणमा लिन प्रहरीसँग आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध छैनन् । त्यसैले बाँदर नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन डिभिजन वन कार्यालय रौतहटलाई आग्रह गरिएको उनले बताए ।
बजार क्षेत्रमै बाँदरले आतंक मच्चाउँदा सर्वसाधारण, व्यवसायी तथा स्वास्थ्यकर्मी जोखिममा परेका छन् । स्थानीयले सम्बन्धित निकायसँग तत्काल बाँदर नियन्त्रण गरी थप दुर्घटना हुन नदिन माग गरेका छन् ।