जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ ।
अभियानका अध्यक्ष जितेन्द्र महतोको नेतृत्वमा गएको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन माग गरेको हो ।
अभियानले रेल यात्रुको सहज आवागमन सुनिश्चित गर्न रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न आग्रह गरेको छ ।
त्यसैगरी, रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन तथा खाली जग्गालाई पार्क र बगैँचाका रूपमा विकास गर्न माग गरिएको छ ।
मागपत्रमा रेल्वे परिसरमा हाटबजारको व्यवस्थित सञ्चालन, सडक तथा छेकबारको उचित व्यवस्थापन र यात्रुलाई आवश्यक आधारभूत सुविधा उपलब्ध गराउनुपर्ने विषयसमेत समेटिएको छ ।
रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा मालवाहक ढुवानी सेवा सञ्चालन गर्न पनि अभियानले नेपाल रेल्वे कम्पनीको ध्यानाकर्षण गराएको छ ।
जनकपुरधामको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै रेल सेवाको गुणस्तर सुधार गर्नुपर्ने अभियानको भनाइ छ । रेल सेवा व्यवस्थित भए आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सहज हुनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म सञ्चालन हुने रेल सेवा स्तरोन्नतिपछि विसं २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।