नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले बाराबाट ७ लाख ८१ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) बरैनियाको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ भन्सार छली गरी चोरी निकासी तथा पैठारी भइरहेको अवस्थामा लत्ताकपडा, किराना सामान, हरियो मटर र स्याउलगायतका सामग्री बरामद गरिएको हो ।
सामान ओसारपसार तथा ढुवानीमा प्रयोग गरिएका तीनवटा साइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएका सम्पूर्ण सामान तथा साइकलको कुल बजार मूल्य ७ लाख ८१ हजार ७ सय ६० रुपैयाँ रहेको छ ।
नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।