प्रहरीले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ ।
पर्साको ग्रामीण तथा बजार क्षेत्रमा लामो समयदेखि भन्सार छली गरी नेपाल भित्र्याइएका सवारीसाधन सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले खोजतलास गर्ने क्रममा ती सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँस्थित सडकखण्डबाट भारतीय नम्बर प्लेटको बोलेरो गाडी र मारुती सुजुकी कार बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै सवारीसाधनको कुल मूल्य २२ लाख रुपैयाँ मूल्याङ्कन गरिएको छ। ती सवारीसाधन थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
भन्सार छली गरी नेपाल भित्र्याइएका सवारीसाधनमाथि प्रहरीले निगरानी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ ।