पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा भारतीय सवारीसाधनहरूको अवैध प्रयोग बढ्दै गएको छ ।
वीरगंज भन्सार कार्यालयबाट प्रवेश अनुमति नलिई भारतीय नम्बर प्लेट भएका टाटा सुमो, बोलेरो, स्कार्पियो तथा मोटरसाइकलहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । सस्तो मूल्यका कारण पर्साका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले भारतीय आफन्तजनका नाममा गाडी किनेका छन् र बिना अनुमति नेपालमै राख्ने गरेका छन् ।
भन्सार नियमअनुसार भारतीय सवारीसाधनहरू वीरगंज महानगर क्षेत्र र सिमरा विमानस्थलसम्म मात्र प्रवेश गर्न पाउँछन् । सोही दिन भारत फर्किनुपर्ने नियम भए पनि स्थानीय व्यापारी, जनप्रतिनिधि तथा बिचौलियाहरू सेटिङ मिलाएर गाडी नेपाल मै सञ्चालन गर्दै आएका छन् ।
भारतमा नेपाली गाडीलाई कडाइ गरिएको भए पनि नेपालमा भने भारतीय गाडी निर्बाध रूपमा सञ्चालनमा छन् । सीमावर्ती नाका जस्तै रक्सौल, भेलाही, सिकटा, इनर्वा, मैनाटार लगायतका स्थानबाट भारतीय सवारीसाधनहरू सजिलै नेपाल भित्रिन्छन् ।
स्थानीय प्रहरीले यसबारे कडाइ गर्नुपर्ने माग उठाए पनी वीरगंज भन्सार क्षेत्रमै भारतीय गाडीहरू अनधिकृत रूपमा पार्किङ हुँदै आएको देखिन्छ । प्रहरी भने मुखदर्शक बनेकाे छ ।