सप्तरी प्रहरीले सर्वसाधारणलाई रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामाका ५२ वर्षीय हनुमानी भनिने रामबहादुर रजक र सोही ठाउँका ३४ वर्षीय गुन्जेश सिंह हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार रजकले पछिल्लो समय उदयपुरका एक व्यक्तिलाई रकम दोब्बर बनाइदिने आश्वासन दिएर पाँच लाख रुपियाँ लिएको र थप एक लाख रुपियाँ मागेको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पुरानो चिनजानका गुन्जेश सिंहमार्फत रजकसँग सम्पर्कमा पुगेका पीडितले यही कात्तिक १४ गते पाँच लाख रुपियाँ बुझाउनुभएको थियो । रकम दोब्बर बनाएर फिर्ता दिने भनिए पनि पटकपटक फोन गर्दा रकम नपुगेको भन्दै थप एक लाख रुपियाँ लिएको थियो ।
थप रकम लिन पीडितलाई गएको मङ्गलबार दिउँसो २ बजे बोलाइएको थियो । रकम लिन पुगेका पीडितको मोबाइल फोन खोसेर सम्पर्कविहीन बनाइएको आरोप छ । त्यसपछि पीडितका साथीहरूले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक लाख रुपियाँ नगदसमेत बरामद गरेको जनाएको छ । बभनगामास्थित रजकको घरमा पुगेको प्रहरी टोलीले दुवै जनालाई घरको तेस्रो तलाबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले घरमा खानतलासीसमेत गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
पुरानो ठगी मुद्दा विचाराधीन
रजक यसअघि पनि ‘पैसा दोब्बर बनाइदिने’ प्रलोभन देखाएर सर्वसाधारणबाट ठुलो रकम असुल गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् । प्रहरीका अनुसार उहाँ २०८१ पुसमा दर्जनौँ व्यक्तिबाट करोडौँ रुपियाँ ठगी गरेको आरोपमा पक्राउ पर्नुभएको थियो ।
त्यतिबेला उहाँविरूद्ध उजुरी परेको जानकारी पाएपछि मोबाइल बन्द गरी सम्पर्कविहीन हुनुभएको थियो । सुराकीका आधारमा उहाँलाई नियन्त्रणमा लिइए पनि उक्त प्रकरणमा ठगी कारोबारमा समूह नै संलग्न रहेको प्रहरी स्रोतको दाबी थियो ।
रजकको ठगीमा परेको भन्दै रकम असुल गर्न गएको एउटा समूहसँग विवाद हुँदा कुटपिट र सवारीसाधन तोडफोड भएको आरोपसमेत सार्वजनिक भएको थियो । उक्त विवाद प्रहरीसम्म पुगेपछि मिलापत्रमार्फत टुङ्ग्याइएको बताइएको थियो ।
सो प्रकरणमा पक्राउ परेका रजक करिब तीन महिना थुनामा बसेपछि २०८१ फागुन २९ गते धरौटीमा रिहा भएको मुद्दा फाँटका प्रहरी निरीक्षक प्रमोद साहले जानकारी दिनुभयो ।
तत्काल धरौटी रकम तिर्न नसक्दा हनुमानीलाई कारागार चलान भएको पछि ११ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । उक्त प्रकरणमा उहाँका छोरा मनोज रजक पाँच लाख र श्रीमती लिलम रजक सात लाख रुपियाँ धरौटीमा रिहा हुनुभएको थियो ।
धरौटीमा रिहा भए पनि रजकविरुद्धको पुरानो ठगी मुद्दा सप्तरी जिल्ला अदालतमा विचाराधीन रहेको छ । पुरानो मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेकै अवस्थामा उहाँविरुद्ध पुनः ठगीको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक साहका अनुसार यसअघि नै हनुमानी उपर १४ वटा ठगी कारोबार मुद्दा दर्ता रहेको छ ।