जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । राजनीतिक निकासका लागि भन्दै उनीहरूले आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
राजीनामा दिने मन्त्रीहरूमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन् ।
उनीहरूले राजीनामा पत्रमा प्रदेशमा जारी राजनीतिक परिस्थितिलाई निकास दिन सामूहिक रूपमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा गरेको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।
चार मन्त्रीको सामूहिक राजीनामासँगै मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेको छ । नयाँ राजनीतिक समीकरणअन्तर्गत नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलेर सरकार गठन गर्ने सहमति भइसकेको बताइएको छ ।
चार मन्त्रीको राजीनामापछि मधेस प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आउने देखिएको छ । अब नयाँ गठबन्धनअनुसार सरकार गठन तथा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।
