सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्मको सडक निर्माण कार्यले करिब ६ वर्षपछि गति लिएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडकमा शुक्रबारदेखि कालोपत्रे गर्ने काम सुरु भएको हो ।
वर्षौंदेखि सडक निर्माण सम्पन्न हुने प्रतीक्षामा रहेका स्थानीयले धुलो, धुवाँ र हिलाम्मे सडकका कारण सास्ती भोग्दै आएका थिए । सडक निर्माणमा भएको ढिलाइले दैनिक आवागमनमा समस्या हुँदै आएको अवस्थामा कालोपत्रे सुरु भएपछि स्थानीयमा केही राहतको आशा पलाएको छ ।
हुलाकी निर्देशनालय कार्यालय जनकपुरले २०७७ भदौ २४ गते ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ९१ करोड ३९ लाख ७९ हजार ६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ फागुन २३ गतेभित्रै सडक निर्माण सम्पन्न हुनुपर्ने थियो ।
तर, निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि निर्देशनालयले पहिलो पटक २०८० फागुन २२ गतेसम्म र दोस्रो पटक २०८१ फागुन २२ गतेसम्म एक–एक वर्षका दरले म्याद थप गरेको थियो ।
दुई पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि तेस्रो पटक असार मसान्तसम्म काम पूरा गर्ने गरी म्याद थप गरिएको छ। त्यसपछि निर्माण कम्पनीले सडक कालोपत्रेको काम अघि बढाएको हो ।
निर्माण कम्पनीका साइट इन्चार्ज बेचन साहले राजनीतिक दल, जनप्रतिनिधि तथा सर्वसाधारणबाट निर्माण कार्यमा अवरोध नभए निर्धारित समयभित्रै सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार छठपर्वसम्म चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने र छठपछि बाँकी कामलाई निरन्तरता दिइनेछ । असार मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको उनले जानकारी दिए ।
यता, हुलाकी निर्देशनालय कार्यालय जनकपुरका सबइन्जिनियर नारेन्द्र यादवका अनुसार निर्माण कम्पनीलाई यसअघि दुई पटक म्याद थप गरिएको छ । हालसम्म निर्माण कम्पनीले कुल ठेक्का रकमको करिब ४० प्रतिशत भुक्तानी प्राप्त गरिसकेको छ भने सडकको भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ ।
करिब ६ वर्षदेखि निर्माणको प्रतीक्षामा रहेका स्थानीयका लागि कालोपत्रे सुरु हुनु सकारात्मक भए पनि पटक–पटक म्याद थप्दा समेत काम सम्पन्न हुन नसकेको विषयले निर्माण कार्यको समयसीमा र कार्यान्वयनमाथि प्रश्न उठाएको छ । अब तेस्रो पटक थपिएको म्यादभित्र सडक निर्माण सम्पन्न हुन्छ कि हुँदैन भन्ने चासो स्थानीयमा देखिएको छ ।