बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा करिब २ करोड रुपैयाँको लगानीमा अनमोल स्वीट होटलको नयाँ शाखा सञ्चालनमा आएको छ । मिठाई व्यवसायलाई विस्तार गर्दै होटल सेवा समेत उपलब्ध गराउने उद्देश्यले स्कुल अगाडि टेडा रोडमा स्थापना गरिएको शाखा बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
नयाँ शाखाको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गर्नुभएको हो। उद्घाटन गर्दै उहाँले नयाँ व्यवसायको विस्तारले जीतपुरको आर्थिक तथा व्यापारिक गतिविधिमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। अनमोल स्वीटले आफ्नो छुट्टै पहिचान स्थापित गर्दै गएको उल्लेख गर्दै उहाँले नयाँ शाखाबाट स्थानीय उपभोक्ताले थप सुविधा पाउने बताउनुभयो ।
यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ता, उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र गुप्ता र पूर्ववरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले संयुक्त रूपमा रिबन काटेर होटलको शुभारम्भ गर्नुभएको थियो ।
होटलका सञ्चालक निप्पु सर्राफका अनुसार ग्राहकलाई स्वच्छ, शुद्ध र गुणस्तरीय मिठाई उपलब्ध गराउनुका साथै विभिन्न प्रकारका खानाका परिकार तथा होटल सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ। नयाँ शाखामा मिठाईका विभिन्न स्वादसँगै खानपिनका अन्य परिकारसमेत उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।
हेटौँडाबाट व्यवसाय सुरु गरेको अनमोल स्वीटले यसअघि वीरगञ्जमा दोस्रो शाखा विस्तार गरेको थियो । जीतपुरमा तेस्रो शाखा सञ्चालनमा आएसँगै कम्पनीले आफ्नो व्यवसायिक सेवा क्षेत्र थप फराकिलो बनाएको छ ।
करिब २ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको नयाँ शाखाले जीतपुरको व्यापारिक गतिविधि बढाउनुका साथै स्थानीय बजारमा मिठाई तथा होटल सेवाका उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।