बारा । जिल्ला निर्वाचन कार्यालय, बाराले जिल्लाभित्र रहेका मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन र निर्धारण गर्ने प्रक्रिया अघि बढाएको छ । यसैक्रममा कार्यालयले जिल्लामा सक्रिय राजनीतिक दलहरूसँग छलफल गर्न बैठक आह्वान गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय, बाराका निमित्त जिल्ला निर्वाचन अधिकारी मुकेशकुमार सिंहद्वारा जारी पत्रअनुसार जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक बस्न लागेको हो ।
आगामी कात्तिक २७ गते शुक्रबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, बाराको सभाहलमा बैठक आयोजना गरिएको छ । बैठकमा जिल्लामा सक्रिय राजनीतिक दलका जिल्ला प्रमुख वा उनीहरूले तोकेको एक जना प्रतिनिधिलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन र निर्धारण निर्वाचन प्रक्रियाको महत्वपूर्ण पक्ष भएकाले यसलाई व्यवस्थित, सहज र निष्पक्ष बनाउन राजनीतिक दलहरूको सहभागिता सुनिश्चित गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदातालाई मतदान गर्न सहज हुने स्थान छनोट, आवश्यक पूर्वाधारको अवस्था तथा विगतमा रहेका मतदान स्थल र केन्द्रको उपयुक्तताबारे बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।
निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र विश्वसनीय बनाउन राजनीतिक दलहरूको सुझाव तथा सहमतिलाई समेत ध्यानमा राखेर मतदान स्थल तथा केन्द्रसम्बन्धी सिफारिस अघि बढाइनेछ ।
