सप्तरी | सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यले यातायात व्यवस्था कार्यालय राजविराजले सप्तरीका पाँच स्थानीय तहमा ७८९ थान सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरणका लागि सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको छ ।
लाइसेन्स लिन सदरमुकाम राजविराजसम्म धाउनुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य गर्दै स्थानीय तहमै सेवा उपलब्ध गराउने उद्देश्यले प्रिन्ट भएर आएका स्मार्ट लाइसेन्स पालिकामार्फत वितरण गर्न लागिएको हो ।
यातायात व्यवस्था कार्यालय राजविराजका प्रमुख शशीप्रसाद यादवका अनुसार खडक, बोदेबर्साइन, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा बलानबिहुल गाउँपालिकामा गरी ७८९ थान स्मार्ट लाइसेन्स पठाइएको छ । सन् २०२३ देखि २०२६ सम्म प्रिन्ट भएका पुराना, नयाँ तथा नवीकरण गरिएका लाइसेन्स सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार खडक नगरपालिकामा २२६, बोदेबर्साइन नगरपालिकामा २३८, सुरुङ्गा नगरपालिकामा ३३, शम्भुनाथ नगरपालिकामा २३८ र बलानबिहुल गाउँपालिकामा ४४ थान स्मार्ट लाइसेन्स पठाइएको छ ।
यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी तथा सबइन्जिनियर अजयकुमार शर्माका अनुसार पछिल्लो तीन दिनदेखि पालिकाहरूलाई स्मार्ट लाइसेन्स हस्तान्तरण गर्ने काम भइरहेको छ ।
उहाँले प्रिन्ट भएर आएका लाइसेन्स सेवाग्राहीले आफ्नै पालिकाबाट प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सम्बन्धित स्थानीय तहलाई बुझाइएको बताउनुभयो । वितरणका लागि पठाइएका लाइसेन्समा मोटरसाइकल, कार, जिप, बसलगायत विभिन्न वर्गका सवारीचालक अनुमतिपत्र रहेका छन्। तीमध्ये सबैभन्दा बढी मोटरसाइकलका लाइसेन्स छन् ।
रोजगारी, अध्ययन वा अन्य कामको सिलसिलामा जिल्लाबाहिर रहेका सेवाग्राहीले पनि लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । सम्बन्धित पालिकाले सेवाग्राहीको पहिचान गरी स्वयं व्यक्ति वा उनका नजिकका आफन्तलाई लाइसेन्स उपलब्ध गराउन सक्नेछन् ।
सप्तरीका १८ स्थानीय तहमध्ये पहिलो चरणमा पाँच पालिकामा लाइसेन्स पठाइएको हो। बाँकी स्थानीय तहमा पनि बिदापछि वितरणका लागि पठाइने कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।
आफ्नै पालिकाबाट स्मार्ट लाइसेन्स प्राप्त गर्न पाउँदा सेवाग्राहीलाई सहज भएको छ । सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरीले स्थानीयस्तरमै लाइसेन्स उपलब्ध हुन थालेपछि नागरिकलाई ठूलो राहत मिलेको बताउनुभयो । सामान्य सरकारी सेवा लिनसमेत सदरमुकाम धाउनुपर्ने बाध्यता यसबाट कम हुने उहाँको विश्वास छ ।
त्यस्तै, बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहले यातायात व्यवस्था कार्यालयबाट प्राप्त लाइसेन्स सम्बन्धित सेवाग्राही तथा उनीहरूका नजिकका आफन्तलाई बुझाउने काम भइरहेको बताउनुभयो ।
सरकारी सेवालाई सरल, सहज र नागरिकमैत्री बनाउने प्रयासस्वरूप सुरु गरिएको यस व्यवस्थाले सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै स्थानीय तहबाटै सरकारी सेवा प्राप्त गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।