जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण हुने भएको छ। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच नयाँ सरकार गठन गर्ने सहमति जुटेसँगै प्रदेशमा सरकार परिवर्तनको तयारी अघि बढेको हो ।
नेकपा एमाले मधेस प्रदेश सभा संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलबीच नयाँ सत्ता समीकरण बनाउने विषयमा सहमति भइसकेको दाबी गरेका छन् । उनका अनुसार केन्द्रस्तरमै एमाले, जसपा नेपाल र नेकपाबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ। अब जसपा नेपालको नेतृत्वमा एमाले र नेकपा सहभागी सरकार बनाउने गरी गृहकार्य भइरहेको छ ।
नयाँ गठबन्धन निर्माण भएसँगै नेपाली कांग्रेस नेतृत्वको वर्तमान मधेस प्रदेश सरकार संकटमा परेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर बन्दै गएको छ। सरकार जोगाउन मुख्यमन्त्री यादवले काठमाडौँ पुगेर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट तथा संवादलाई तीव्रता दिएका छन् ।
तर, एमालेले वर्तमान सरकारलाई पुनः समर्थन गर्ने सम्भावना नरहेको नेता यादवले स्पष्ट पारेका छन् । उनका अनुसार वैकल्पिक गठबन्धन निर्माणको गृहकार्य अघि बढिसकेको छ र अब वर्तमान सरकारलाई निरन्तरता दिने अवस्था छैन ।
यसअघि कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारलाई जोगाउन पार्टी सभापति गगन थापाले समेत केन्द्रस्तरमा राजनीतिक संवाद अघि बढाएका थिए । उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। तर, ती छलफलबाट वर्तमान सरकारलाई निरन्तरता दिने आधार तयार हुन सकेन ।
एमाले नेता यादवका अनुसार मधेस प्रदेशमा कांग्रेसलाई प्रतिपक्षमा राखेर जसपा नेपालको नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि तीनै दलका शीर्ष नेता तथा मधेस प्रदेशका नेताहरूबीच काठमाडौँमा थप छलफल गर्ने तयारी भइरहेको छ ।
नयाँ सत्ता समीकरणका लागि मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमाले, जसपा नेपाल र नेकपाका संसदीय दलका नेताहरू अहिले काठमाडौँमै छन्। उनीहरूबीच सरकारको नेतृत्व, मन्त्रालयको बाँडफाँट तथा अन्य राजनीतिक सहमतिका विषयमा छलफल भइरहेको बताइएको छ ।
‘केन्द्रमा पार्टीका अध्यक्षहरूबीच सहमति जुटिसकेको छ । अब काठमाडौँमा नेताहरूसँग बसेर भागबन्डासहित समीकरणलाई अन्तिम रूप दिने तयारी छ,’ यादवले भने ।
तीन दलबीचको सहमति कार्यान्वयन भए मधेस प्रदेशमा कांग्रेस नेतृत्वको वर्तमान सरकार विस्थापित भई जसपा नेपालको नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन हुनेछ । यद्यपि, सरकार गठनको औपचारिक निर्णय, नेतृत्वको अन्तिम टुङ्गो र मन्त्रालय बाँडफाँटबारे तीनै दलको आधिकारिक घोषणा हुन बाँकी छ ।
नयाँ गठबन्धनको दाबी र मुख्यमन्त्रीको विश्वासको मतका लागि भइरहेको प्रयासले मधेस प्रदेशको राजनीति थप निर्णायक मोडमा पुगेको छ ।