नेपालको धार्मिक नगरी जनकपुरधाम र भारतको अयोध्याबीच रेल सम्पर्क स्थापित गर्ने तयारी तीव्र बनेसँगै मिथिलाको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मभूमिका रूपमा धार्मिक मान्यता प्राप्त अयोध्यालाई रेलमार्गबाट जोड्ने प्रस्ताव कार्यान्वयनमा आए दुवै सहरबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुनुका साथै जनकपुरधामले अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा आफ्नो पहिचान विस्तार गर्ने अवसर पाउनेछ ।
प्रस्तावित रेल सेवाको तयारीअन्तर्गत बिहीबार १७ वटा बोगीसहितको भारतीय रेल जयनगर हुँदै जनकपुरधामको कुर्थासम्म ल्याएर परीक्षण गरिएको छ । भारतीय रेल्वेका पदाधिकारीसहित डब्ल्यूडीपी–४ डी ४०३७० नम्बरको रेल प्रस्तावित सेवा सञ्चालनको सम्भाव्यता परीक्षणका लागि जनकपुरधाम ल्याइएको नेपाल रेल्वेका प्रमुख परिवेश पराजुलीले जानकारी दिए ।
उनका अनुसार जनकपुरधाम र अयोध्या दुवै हिन्दु धर्मावलम्बीका लागि आस्थाका महत्त्वपूर्ण केन्द्र हुन् । यी दुई सहरबीच सिधा रेल सम्पर्क स्थापित भए रामायणसँग सम्बन्धित धार्मिक स्थलको भ्रमण गर्न चाहने श्रद्धालु तथा पर्यटकलाई आवतजावतमा सहज हुनेछ ।
प्रस्तावित रेल सेवा सञ्चालनमा आए भारतको अयोध्या पुग्ने धार्मिक पर्यटकलाई जनकपुरधामसम्म ल्याउन र नेपालबाट अयोध्या जान चाहने श्रद्धालुलाई पनि सहज हुनेछ। यसले रामायण सर्किटको अवधारणालाई व्यवहारमा जोड्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल रेल्वेका प्रमुख पराजुलीका अनुसार पहिलो चरणमा १७ बोगीसहितको रेल ल्याएर परीक्षण गरिएको हो । तर, सेवा सञ्चालनको मिति र व्यवस्थापनका विषयमा नेपाल तथा भारतबीच औपचारिक सम्झौता हुन बाँकी छ ।
उनका अनुसार प्रारम्भिक छलफलमा सातामा एक दिन जनकपुरधामबाट अयोध्यासम्म रेल सञ्चालन गर्ने र अर्को दिन फर्काउने योजना बनाइएको छ। प्रस्तावित योजनाअनुसार सम्झौता भए नेपालतर्फ जनकपुरधाम र जयनगरमा स्टेसन रहनेछन् । भारततर्फका स्टेसन तथा रेलको रुट भने अझै टुङ्गो लाग्न सकेको छैन ।
रेल सेवा सञ्चालनका लागि जनकपुरधाम रेल्वे स्टेसनको प्लेटफर्म स्तरोन्नति गर्ने कामसमेत भइरहेको छ । यात्रु व्यवस्थापन, सीमासुरक्षा तथा अन्य प्राविधिक विषयमा नेपाल र भारतबीच सहमति जुट्न बाँकी रहेको पराजुलीले बताए ।
सेवा सञ्चालनसम्बन्धी सम्झौतापछि नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल सेवाको औपचारिक उद्घाटन गर्ने विषयमा छलफल भइरहेको पनि पराजुलीले जानकारी दिए। यद्यपि, यसबारे दुवै देशबीच औपचारिक निर्णय हुन बाँकी छ ।
पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा नयाँ अवसरको अपेक्षा
जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापित हुनु यातायात सेवा विस्तारमा मात्र सीमित रहने छैन। यसले जनकपुरधामको होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, धार्मिक सामग्रीको व्यापार तथा स्थानीय पर्यटन व्यवसायमा समेत नयाँ अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ ।
अयोध्यामा राममन्दिर निर्माणपछि धार्मिक पर्यटकको आकर्षण बढिरहेको अवस्थामा त्यसलाई जनकपुरधामसँग जोड्न सके भारतीय तीर्थयात्रीका लागि नेपाल भ्रमणको थप गन्तव्य बन्न सक्नेछ । त्यस्तै, जनकपुरधाम आउने श्रद्धालुले पनि अयोध्यासम्मको यात्रा सहज रूपमा गर्न पाउनेछन् ।
उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवा सञ्चालन हुँदैमा जनकपुरधाममा पर्यटकको बसाइ र खर्च स्वतः बढ्ने सुनिश्चित नहुने बताए ।
उनका अनुसार त्यसका लागि जानकी मन्दिरबाहेक रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा सांस्कृतिक स्थलको पहिचान, प्रचारप्रसार, स्तरीय होटल तथा यातायात सेवा, पर्यटकमैत्री पूर्वाधार र व्यवस्थित पर्यटन प्याकेज निर्माण गर्न आवश्यक छ ।
जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी, रामनवमी र जानकी नवमीजस्ता धार्मिक उत्सवलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्ने अवसरसमेत रेल सेवाले प्रदान गर्न सक्ने भण्डारीको भनाइ छ ।
उनले धार्मिक यात्राका लागि आउने पर्यटकलाई मिथिलाको कला, संस्कृति, खानपान र परम्परासँग परिचित गराउन सके उनीहरूको बसाइ लम्ब्याउन र स्थानीय समुदायको आम्दानी बढाउन सकिने बताए ।
नेपालको जनकपुरधामदेखि भारतको अयोध्याधामसम्मको प्रस्तावित रेलमार्गको दूरी करिब ४६४ किलोमिटर रहेको छ ।
रेल जनकपुरधामसम्म ल्याएर परीक्षण गरिएसँगै प्रस्तावित सेवाको तयारीले गति लिएको देखिए पनि सञ्चालन मिति, रुट, भाडादर, स्टेसन, सुरक्षा व्यवस्था र औपचारिक सम्झौताको टुङ्गो लाग्न बाँकी छ ।
प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन हुने चर्चा भए पनि त्यसबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन । आवश्यक प्राविधिक तथा कूटनीतिक प्रक्रिया पूरा गरी सेवा नियमित सञ्चालनमा आए जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्ने नयाँ अवसर सिर्जना हुन सक्नेछ ।